बजेट अभाबले भवन निर्माण योजना अलपत्र, एउटै छाप्रोमा तीन कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता

  • ३० चैत्र २०७४, शुक्रबार
  • कमल खत्री
  • 2353 पटक पढिएको

म्याग्दी, ३० चैत । अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालय भवन निर्माण योजना अल्पत्र परेको छ । जिल्ला प्राबिधिक कार्यालयले आर्थिक वर्ष २०७३७४ मा अन्नपूर्ण गाउँपालीका ६ घारमा साविकको गाविस भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । ०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त भवन निर्माण योजना अहिले अल्पत्र बनेको हो । क्रमागत योजनाका लागि चालु आर्थिक वर्षमा बजेट नआएपछि समस्या भएको जिल्ला प्राबिधिक कार्यालयले जनाएको छ । शान्ति तथा पुननिर्माण मन्त्रालयको शान्ति तथा पुनस्थापना कार्यक्रम अन्तरगत ठेक्का सम्झौता भएको उक्त भवनको लागि बजेट नआएपछि अलपत्र परेको हो ।

निर्माण कम्पनी भगवती मालिका कन्ष्ट्रक्सनसंग रु ३८ लाख ५० हजार ८१८ रकममा योजना सम्झौता भएपनि योजनाको लागि पुरा बजेट नभएपछि अहिले उक्त योजना अधकल्चो अवस्था छ । जग बसालेर वरीपरि पर्खाल लगाउने काम गरिएपनि पहिलो तलाको ढलान समेत नभएको कारण बनाईएको पूर्वाधारहरु समेत भत्कने अवस्थामा पुगेको वडा अध्यक्ष कृष्ण प्रसाद बरुवालले बताउनुभयो । भवन निर्माण योजना अल्पत्र परेको कारण अहिले वडा कार्यालय सञ्चालनमै समस्या भएको वडा अध्यक्ष बरुवालले बताउनुभयो । ‘‘ गत असारमै योजना सम्पन्न हुनुपर्ने हो, जिल्ला प्राविधिक कार्यालयमा पनि खवर गरेका छौँ, तर शान्ति मन्त्रालय अन्र्तगत सञ्चालनमा रहेका योजनाको लागि बजेट नआएको प्रतिकृया आएको छ,’’–वडा अध्यक्ष बरुवालले भन्नुभयो ।

एकातिर भवन निर्माण योजना अल्पत्र छ भने अर्कोतर्फ भवन अभाबले वडा कार्यालयको सेवा साँघुरो र पुरानो भवनबाट सञ्चान भैरहेको छ । वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालय समेत सञ्चालनमा छ । साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या उत्पन्न भएको कर्मचारीहरुको भनाई छ । घारको साविक गाविस भवन (वडा कार्यालय) भवन मात्रै होइन अन्नपूर्ण गाउँपालिकाकै वडा नम्बर ७ को साविक हिस्तान गाविस भवन, धौलागिरि गाउँपालिका–७ ताकमको वडा कार्यालय भवन समेत अल्पत्र अबस्थामा छन् ।

ताकमको वडा भवनका लागि जग खन्ने मात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण योजनाको काम सम्झौता भएको दुई वर्षसम्म निर्माण सुरु भएको छैन् । काम सुरु नगरेपछि निर्माण कम्पनीलाई दिईएको पेश्की रकम समेत बैँक मार्फत तानीएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । अन्नपूर्ण गाउँपालिका –५ शिखको साविक गाविस भवन अझैपनि अधकल्चो अवस्थामा छ । ठेकेदार कम्पनीले योजनालाई अधुरो अबस्थामा छाडेपछि अहिलेसम्म उक्त भवन उपयोगमा आउन सकेको छैन् । शान्ति तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत साविकका गाविस भवनका क्रमागत योजनाका लागि चालु आर्थिक वर्षमा बजेट नआएपछि समस्या भएको जिल्ला प्राबिधिक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट बनाउने क्रममा अर्थ मन्त्रालयले शान्ति तथा पुननिर्माण मन्त्रालयद्धारा सञ्चालीत कार्यक्रम समावेश नगरेकाले बजेट अभाव भएको हो । बिगतकाबर्षमा शान्ति तथा पुनस्थापना कार्यक्रम अन्र्तगत साविकका गाविस भवन पुननिर्माणको लागि अख्तियारी आउने गरेको भएपनि चालु आर्थिक बर्षको अहिलेसम्म पनि गाविस भवन बनाउने शिर्षकमा अख्तियारी र कार्यक्रम नआउँदा अधुरा योजना सम्पन्न गर्न कार्यादेश दिन समस्या भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रविन महर्जनले बताउनुभयो ।

‘‘निर्माण कम्पनीले काम गर्न थाल्यो भने विल भुक्तानी गर्नुपर्छ, तर अहिलेसम्म माथिबाट कार्यक्रम नै आएको छैन, के भएको भनी विभागमा पत्राचार गरेका छौँ, सम्झौता भएका योजना त्यसै छाड्न नमिल्ने हो, माथिल्लो तहबाट कार्यक्रम अख्तियारीको पखाईमा छौँ – इन्जिनियर महर्जनले भन्नुभयो । यता निर्माण ब्यवसायीले गरेको कामको भुक्तानी समेत सबै नपाएको गुनासो गरेका छन् । त्यसैगरि सोही कार्यक्रम अन्र्तगत नै जिल्ला समन्वय समितिको सभाहल निर्माण योजना पनि बजेट अभाबले अल्पत्र छ ।

पहिलो चरणमा फ्रेम स्टक्चरको लागि आएको बजेटबाट अधिकाँश काम सम्पन्न भैसकेपनि फिनिसिङको लागि पठाईएको स्टिमेट अनुसारको बजेट प्राप्त नभएको उक्त योजनाको काम पनि अगाडी बढ्न नसकेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सभाहलको पूर्णता दिन थप सबा २ करोड रुपैयाँको बजेट आगत अनुमान गरि पठाईएको र उक्त बजेट स्विकृत भएपनि रकम भने प्राप्त नभएकाले काम रोकिएको कार्यालयले जनाएको छ । सरकारले विकास र समृद्धिका सपना बाँडीरँहदा नितीगत र मानविय लापरबाहीका कारण अल्पत्र र अधुरा बनेका पूर्वाधार निर्माणका विकास योजनाहरुलाई पूर्णता दिनतर्फ सम्बन्धित निकाय र सरोकारवाला गम्भिर हुन जरुरी छ । (समृद्ध साप्ताहिक चैत २८ गते प्रकाशित )

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l