आनन्दबगरमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन्
- २९ चैत्र २०७४, बिहीबार
- सन्तोष गौतम
- 1837 पटक पढिएको
म्याग्दी २९ चैत । बेनी नगरपालीका १ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीको दोहन भएको छ । सम्बन्धित निकायको अनुमती बिना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खनन्का लागि जिल्ला समन्वय समितिसंग सम्झौता गर्नुपर्ने नितीगत ब्यवस्था छ ।
आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि कसैले पनी अनुमती नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन् गर्नु अबैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो । प्रहरी कार्यालयसंग समन्वय गरेर नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका उपकरणलाई नियन्त्रणमा लिएर तत्कालै कारबाही प्रक्रिया अघि बढाउने सुवेदीले बताउनुभयो । केही दिनयता अनुमती बिना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दै आएका छन् ।
नियमनकारी निकाय र सरकारी अधिकारीहरुको पहुँच पुग्ने सदरमुकाम देखि करिब डेढ किलोमिटरको दुरीमा रहेको बगरबाट अबैध रुपमा नदीको दोहन भएपनी मौन बसेको स्थानीयबासीले गुनासो गरेका छन् । जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम बढेको छ । आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन कल्वले सात लाख पचास हजार रुपैयामा ठेक्कामा दिएको सेभेनस्टार युवा कल्वका अध्यक्ष लालबहादुर थापा (माईकल)ले बताउनुभयो ।
नगरपालीका, समन्वय समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटक पटक योजनाको माग गरेपनि बजेट बिनियोजन नभएकाले बाध्य भएर नगरपालीकाका जनप्रतिनिधिहरुको सहमतीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरीएको थापाले दावी गर्नुभयो ।
नदीजन्य पदार्थको बिक्री गरेर भएको आम्दानीले खेलमैदान विस्तार र नदी किनारमा ग्याबियन पर्खाल लगाएर संरक्षण गरिने उहाँको भनाई छ । तटबन्ध र खेलमैदान विस्तारका लागि स्थानीयबासीले आफै नगद समेत संकलन गरेको थापाले बताउनुभयो ।
जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले स्थानीयबासीको बिरोध र दवावका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का नलगाएको बताउनुभयो । बस्ती जोखिममा पर्छ भनेर सरकारी निकायलाई उत्खनन् गर्ने नदिने तर स्थानीयले जथाभावी रुपमा उत्खनन् गर्नु बदमासी भएको भण्डारीले बताउनुभयो । प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले उत्खनन्मा प्रयोग भएका उपकरण र सवारी साधन मंगलबार दिउँसो नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाउन जिससलाई उपलब्ध गराएको बताउनुभयो ।
गत माघमा बेनपा १ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन्मा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर जिससलाई बुझाएको थियो । प्रहरीले अबैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिएपनी कारबाही नभएकाले यस्तो गतिबिधि मौलाएको प्रनाउ खड्काको गुनासो छ ।