“एक वडा, एक योजना” सञ्चालन गर्न माओवादी केन्द्रको पहल

  • २८ चैत्र २०७४, बुधबार
  • 1896 पटक पढिएको

म्याग्दी २८ चैत । नेकपा (माओवादी केन्द्र) म्याग्दीले संघीय र प्रदेश सरकारका मन्त्रालयमा “एक वडा, एक योजना” सञ्चालन गर्न पहल थालेको छ । म्याग्दीका ४५ वटै वडामा संघिय र प्रदेश सरकारका एउटा मन्त्रालयबाट एउटा योजना भित्र्याउन माओवादी केन्द्रका नेताले नेतृत्व गरेको मन्त्रालयमा पहल थालीएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहले सञ्चालन गर्न नसक्ने ठूलो लगानीका योजना भित्र्याउनका लागि प्रदेश र संघीय सरकारका मन्त्रालयमा पहल थालीएको पुर्व सांसद समेत रहनुभएका माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य पौडेलले बताउनुभयो ।

स्थानीय तह र वडाका जनप्रतिनिधिहरुलाई आफ्नो वडाको आवश्यकता र प्राथमिकताको आधारमा योजना छनौट गरेर मन्त्रालयमा प्रस्ताव गर्न समन्वय भैरहेको उहाँले बताउनुभयो । वडा र स्थानीय तहबाट माग भएका योजना प्रदेशसभाका सांसद, प्रदेश र संघीय सरकारमा म्याग्दीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु मार्फत अघि बढाउन पहल गरिएको छ ।

पहिलो चरणमा माओवादी केन्द्रका नेताले नेतृत्व गरेको संघीय सरकारको उर्जा, जलस्रोत तथा सिचाई, वन, भुसंरक्षण तथा वातावरण, कृषि, खानेपानी, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्बद्ध योजनाको माग संकलन गर्न वडा तथा स्थानीय तहका जनप्रतिनिधिसंग समन्वय गरिएको पौडेलले बताउनुभयो ।