बेनी नगरपालिकाको दोस्रो नगरसभाबाट ६ विद्येयक स्वीकृत (भिडियो सहित)
- २३ चैत्र २०७४, शुक्रबार
- कमल खत्री
- 2649 पटक पढिएको
म्याग्दी, २३ चैत । बेनी नगरपालिकाको दोस्रो नगरसभाबाट विभिन्न ६ विद्येयकहरु स्विकृत भएको छ । गत फागुन २८ गते सुरु भएको नगरसभामा पेश भएका विद्येयकहरु अध्ययनको लागि सदस्यहरुले समय माग गरेपछि स्थगित भएको नगरसभा शुक्रवार मात्रै सुचारु गरि उक्त विद्येयकहरु सर्वसम्मतीले पास गरिएको हो ।
नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक २०७४, प्रशासकीय कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक २०७४, न्यायीक समितिले उजुरीका कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७४ सर्वसम्मतीले स्वीकृत गरिएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
दोस्रो नगरसभाको निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता बराईलीले शिक्षा, सहकारी र कृषि व्यवसाय प्रवद्र्धन गर्ने विद्येयक २०७४ समेत स्वीकृत भएको जानकारी दिनुभयो । नगरसभाबाट स्वीकृत भएका विद्येयकहरु ऐनको रुपमा कार्यान्वयनमा जाने नगरपालिकाले जनाएको छ । शुक्रवारको नगरसभाले सार्वजनिक महत्वको निर्णय पनि गरेको छ ।
बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको स्वास्थ्य चौकीलाई स्तर उन्नती गरि अस्पतालमा रुपान्तरण गर्नका लागि आबश्यक पर्ने पूर्वाधार बनाउन सोही वडा निवासी राधाकृष्ण शर्मा पराजुलीले अस्पतालको नाममा जग्गा दान गर्ने घोषणा गर्नुभएकोमा धन्यबाद ज्ञापन गर्दै उक्त स्वास्थ्य चौकीको स्तरोन्नती भएपछि दाताकै इच्छा अनुसार ‘रघुनाथ भद्रकाली स्मृति अस्पताल’ राख्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
नगर कार्यपालिकाबाट सञ्चालनमा रहि कार्यान्वयनमा कठिनाई भएका केही योजना तथा कार्यक्रमहरुलाई संसोधन गर्ने , नगरपालिकाबाट गत कात्तिक ३१ गतेदेखि हालसम्म भएका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरेको नगरसभाले बेनी नगरपालिका वडा नम्बर–६ का अध्यक्ष कृष्ण बहादुर बानियाँको छोरी पुनम बानियाँको अल्पआयुमै हालै भएको निधनप्रति दुख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l