बेनी–काठमाण्डौ रुटमा सुपर डिलक्स बस सेवा सुचारु हुँदै
- १७ चैत्र २०७४, शनिबार
- कमल खत्री
- 4942 पटक पढिएको
म्याग्दी, १७ चैत । बेनी–काठमाण्डौ रुटमा पहिलो पटक सुपर एसी डिलक्स बस सेवा सञ्चालनमा आउने भएको छ । म्याग्दी कोरला मुभर्स एण्ड ट्राभल्स् कम्पनीले रु ६ करोड लगानी गरि यस सडकमा दैनिक रुपमा सेवा दिने गरि सुविधायुक्त बस सेवा सञ्चालन गर्न लागेको हो ।म्याग्दीका यातयात व्यवसायिहरु सुरत केसी, नगेन्द्र केसी, मोहन केसी, प्रकाश पौडेल र अर्जुन आचार्य लगायतले संयुक्त लगानीमा यात्रुहरुलाई गुणस्तरीय सुविधा सहितको बस सेवा सञ्चालन गर्न लागेका हुन् ।
पहिलो चरणमा १० वटा मिनी वार सुविधा सहितको एसी डिलक्स बसबाट सेवा सुरु गरिने कम्पनीका अध्यक्ष सुरत केसीले बताउनुभयो ।मिनी बार सुविधा रहेको यस बसमा चढ्ने यात्रुहरुलाई पानी , चिसो र चिया सहितको सेवा उपलब्ध हुनेछ । बसभित्रै शौचालय, आराम कोठा, वाईफाई इन्टरनेट संगै महत्वपूर्ण सामानको सुरक्षाको लागि पासवर्ड राख्न सकिने आधुनिक लकरको समेत सुविधा रहेको छ ।
‘‘ गुणस्तरीय यातयात सुविधाले पर्यटकहरुलाई समेत आकर्षित गर्ने हाम्रो लक्ष्य हो, सार्वजनिक यातयातबाटै सुरक्षित र आरामदायि यात्रा गराउन सकिन्छ भन्ने उदेश्यले सुविधायुक्त बस सेवा सञ्चालन गर्न लागेका हौँ, यसले म्याग्दी र मुस्ताङमा आउने पर्यटकहरुलाई सुविधा पुग्छ,’’–अध्यक्ष केसीले भन्नुभयो । सुरक्षित यात्राको लागि सिसी क्यामेरा जडान गरिएको यस बसमा दुई जना चालक राख्ने व्यवस्था गरिएको छ ।
तत्काललाई बेनी–काठमाण्डौ रुटमा मात्रै बस सेवा सञ्चालन गरिने भएपनि यसलाई क्रमिक रुपमा म्याग्दीकै दरबाङ, भुरुङतातोपानी, पोखरा, मुस्ताङ हुँदै कोरला सम्मबाट सेवा दिने गरि विस्तार गरिने कम्पनीका लगानीकर्ता नगेन्द्र केसीले बताउनुभयो । ‘‘ नयाँ दिल्लीमा आधुनिक प्रविधिद्धारा निर्माण गरिएका गाडी ल्याएका छौँ, अहिले २ वटा बस बेनीमा ल्याईसकिएको छ, १५ दिनभित्र थप ८ वटा गाडी आउँछ, सोमबारदेखि बेनी र काठमाण्डौबाट औपचारीक रुपमा सेवा सुरु गर्ने तयारी छ,’’– केसीले भन्नुभयो ।
यस बसमा ३० जनाले यात्रा गर्न सकिने क्षमता रहेको छ । पछिल्लो समय सार्वजनिक यातयातमा व्यवसायिहरुको प्रतिस्पर्धाले यातयात सेवामा सुविधा थपिदै गएको छ भने गुणस्तरीय सेवा सुविधाहरु उपलब्ध हुने क्रम बढेको छ । तर सडकको अवस्था जिर्ण हूँदा गुणस्तरीय सेवा लिन यात्रुहरुलाई सकस हुने गरेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l