माओवादी केन्द्र म्याग्दीको विस्तारीत बैठक सम्पन्न
- १५ चैत्र २०७४, बिहीबार
- 2573 पटक पढिएको
बेनी १५ चैत । नेकपा माओवादी केन्द्र म्याग्दी जिल्ला संगठन समिति म्याग्दीको कार्यालयको विस्तारीत बैठक बिहीबार बेनीमा सम्पन्न भएको छ । जिल्ला संयोजक गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीको निती तथा कार्यक्रम र एमालेसंगको पार्टी एकताको विषयमा छलफल भएको थियो । स्थानीय तह र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवेदन र गतिबिधी प्रस्तुत गरेका थिए ।
बैठकमा माओवादी केन्द्रको प्रदेश ४ को कार्यालय सदस्य अमर तमुले विगतका आन्दोलनबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिको लक्ष्य हाँसील गर्न एमाले माओवादीबीच पार्टी एकता र कम्युनिष्ट पार्टीहरुबीच ध्रुबीकरण भएको बताउनुभयो । उहाँले परिर्वतन, राष्ट्रियताको रक्षा, विकास र सम्बृद्धीको लागी माओवादी र एमालेबीच एकता हुन लागेकाले कार्यकर्तातहसम्म सकारात्मक रुपमा छलफल र बहस गर्नुपर्ने बताउनुभयो ।
एकतालाई सफल र सम्मानजनक बनाउन सबै कार्यकर्ताहरु सक्रिय बन्नुपर्ने जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो । बैठकमा बोल्ने सचिवालय सदस्यहरुले कम्युनिष्ट पार्टीको एकता देशको आवश्यकता भएको बताउँदै एकतालाई सम्मानजनक बनाउन र सैद्धान्तिक विषयमा छलफल गरी भ्रमको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।