थकाली समुदायमा तोरन ल्हको रौनक

  • २८ फाल्गुन २०७३, शनिबार
  • सन्तोष गौतम
  • 3229 पटक पढिएको

बेनी, २८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ ।

थकाली समुदायले फागु पुर्णीमाको अवसरमा तोरन ल्ह पर्व मनाउने गर्दछन् । तिन दिनसम्म मनाउने यस पर्वलाई थकाली समुदायको सबैभन्दा ठूलो चाड मानिन्छ । तोरन ल्ह मनाउन घरबाहीर र बिदेशमा रहेका थकाली समुदायहरु आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगार पटार पनि गर्छन् ।

11

फागु पूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तिन दिनसम्म मनाउने गरिन्छ । यस पर्वमा आफन्तहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउने, चोखो निष्ठ भई पितृको सम्झना गर्ने र आर्चरी (तारो हान्ने) खेल्ने चलन रहेको छ ।

तल्लो मुस्ताङ, म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत थकाली समुदायको बसोबास रहेको ठाउँमा शनिबारदेखि तोरन ल्ह मनाउन सुरु भएको छ । यसैक्रममा थकाली सेवा समाज बेनी क्षेत्रको आयोजनामा शनिबार तोरन्ह पर्वको शुभकामना अदानप्रदान गरिएको छ ।

22

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, जिल्ला आदीवासी जनजाती समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल लगायतले परम्परागत कला, संस्कृती, संस्कार, भेषभुषा र पहिचानको संरक्षणमा सबै सचेत रहनुपर्ने बताउनुभयो ।

थकाली सेवा समाज बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनको अध्यक्षता, उपाध्यक्ष कृष्णकुमार शेरचनको स्वागत र सचिव सुन्दरमान शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजका केन्द्रिय सदस्य गोपाल भट्टचन, पुर्व केन्द्रिय सदस्य बिमला गौचन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, नेपाल मगर संघका अध्यक्ष मनप्रसाद थजाली, नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र छन्त्याल संघका उपाध्यक्ष रेशम छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम