दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु विद्यालय जानबाट बञ्चित

  • २५ फाल्गुन २०७३, बुधबार
  • कमल खत्री
  • 4835 पटक पढिएको

unnamed (1)

म्याग्दी, २५ फागुन । ताकम–३ रातमाटाकी ११ बर्षिय निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहिन रहेको र घरपरिवारको आर्थिक अबस्था एकदमै न्युन भएपछि निरुता संगै उनका दुई बहिनीहरुले पनि पढ्न छाडेका छन् ।

दृष्टिविहीन दम्पती जलन विक र सुस्मीता विकका चार छोरीहरु मध्ये तिन जना विद्यालय उमेरका छन् । जेठी निरुता चार कक्षा, ८ बर्षिय माइली कमला कक्षा दुई र साईली ५ बर्षिय अञ्जली बालकक्षामा अध्ययन गर्दागर्दै विद्यालय छाड्न बाध्य भएका हुन् ।

2

विक दम्पतीको कान्छि छोरी इच्छा दुई बर्षकी छिन् । गाउँमा अरुको जग्गामा सामान्य घर बनाएर बस्दै आएका विक परिवार जग्गाधनिले पटक–पटक जग्गा किन्न या घर छाड्न दबाब दिएपछि गाउँ नै छाडेर निस्कीएका हुन् । ‘‘ हाम्रो आफ्नै जग्गा नै थिएन, ससुराले गाउँमा पहिले रु ७ हजार तिरेर अरुको जग्गामा घर बनाउनुभएको रहेछ, अहिले जग्गाधनीले कि जग्गा किन कि छोड भने, हामीसंग पैसा नभएकाले घर छाडेर निस्कीयौ’’– दृष्टिविहीन सुस्मिताले भनिन् ।

5

जग्गा धनीले रु ८० हजार मागेपछि उनीहरुले घरै छाडेको बताउँछन् । विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजीकै पर्वतको लामखेतमा कोठा भाडामा लिएर बसेका छन् । मासिक १५ सय तिनुपर्ने साँघुरो र विजुलीको समेत सुविधा नभएको कोठामा चार छोरीहरुलाई राखेर बसेकी सुस्मिताले दैनिकी चलाउन नै मुस्किल भएकाले आर्थिक अभाबको कारण छोरीहरुलाई विद्यालय पठाउन नसकेको बताइन् ।

उनका श्रीमान जलनले नारायणगढमा एक दोहोरी साँझमा काम गर्छन् । मादल बजाउन सिपालु जलनले महिनामा जम्मा ३ हजार कमाउछन् । उनले आफुले कमाएको पैसाले चार सन्तानलाई दैनिक रुपमा खाना खुवाउने सम्म पनि नपुग्ने भएकाले छोरीहरुलाई विद्यालय पठाउन नसकेको बताउँछन् । उनले गरिबी र आफ्नो दम्पती नै दृष्टिविहिन भएको कारण छोरीहरुलाई विद्यालय पठाउन आबश्यक पर्ने लत्ताकपडा, शैक्षिक सामाग्रि लगायतको अभाब रहेको बताउँछन् ।

unnamed

‘‘ हामीले केही पनि किनेका छैनौँ, किन्ने पैसा पनि छैन, घरखर्चको सामान श्रीमानको तलब आएपछि दिउँला बनेर उधारोमा लिएको छु, यहाँ वरपरका दिदी बहिनीले भाँडाकुडा सहयोग गर्नुभएको छ, छोरीहरुलाई विद्यालय पठाउन पाए हुन्थ्यो भनेको केही उपाए निस्कीएको छैन’’–सुस्मिताले भनिन् । उनले राज्यले चौमासिक रुपमा दिने २ हजार ४ सय रुपैयाँ भत्ताले एक महिनाको घरखर्च धान्न पनि गाह्रो हुने गरेको बताइन् ।

गाउँमा घर छाड्नुपरेपछि बहिनीहरु र आमालाई होतारेर बजार झरकी दृष्टिविहिन विक दम्पतीकी जेठी छोरी निरुताले कतै काम पाए विहान बेलुका काम गरेर भएपनि विद्यालयमा पढ्न जाने धोको रहेको बताइन् । कान्छि बहिनीलाई काखमा च्यापेर लामखेतको चौरमा बसेकी सुस्मिताले केही समय अगाडि स्थानीय एक होटलमा भाँडा र कपडा धुने काम गरेपनि पैसा नदिएको गुनासो गरिन् ।

एक जना दाईले बंगुरको खोर सफा गर्ने काम लगाइदिने आश्वासन दिएको बताउने उनले विहान र बेलुका अरुको काम गरेर भएपनि विद्यालयमा गएर पढ्ने इच्छा रहेको बताइन् । ‘‘ आमाले केही गर्न सक्नुहुन्न, बहिनीहरुको हेरचाह सबै मैले नै गर्छु, उनीहरुलाई संगै स्कुल लैजाने र ल्याउने गर्न पाए हुन्थ्यो भनेको, केहीगरेपनि पठ्न पाइएन, पढ्न निकै मन छ अब पाइन्छ कि पाइदैन,’’–उनले भनिन् ।

सुस्मिताकी बहिनी अञ्जलीले वरपरका सबै स्कुल जाँदा आफुलाई पनि स्कुल जान मन लागेपनि जान नपाएको बताइन् । अपांग संघ म्याग्दीकी सदस्य सन्ध्या छन्त्यालले दृष्टिविहीन विक दम्पतीका छोरीहरुलाई शिक्षा लिने अबसरबाट बञ्चित नगराउनको लागि सक्दो सहयोगको खाँचो रहेको बताईन् । घरमुली जलनले कक्षा १२ सम्मको अध्ययन गरेपनि कतै अबसर नपाएको गुनासो गर्छन् ।

‘‘बलेवाको जनताधन माविबाट मैले एसएलसी पास गरेको हुँ, त्यसपछि म्याग्दी क्याम्पसमा आएर दुख गरेर १२ कक्षा सम्मको पढाई पुरा गरेको थिए, अहिले छोरीहरुलाई स्कुल पठाउन नसक्दा निकै दुखित छु’’–उनले भने । जलन तिन बर्षको हुँदा दादुराको संक्रमणले दुबै आँखा बन्द भएको थियो भने उनको श्रीमती सुस्मिताको १३ बर्षको उमेरमा आँखाको ज्योती गुमेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l