तिव्र गतिमा देश विकासका लागि बामपन्थीलाई मत : गिरी

  • १६ मंसिर २०७४, शनिबार
  • 1951 पटक पढिएको

पर्वत, १४ मंसिर ।  प्रतिनिधिसभामा पर्वत जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा संयुक्त बामपन्थी गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपका एमाले पर्वतका अध्यक्ष पदम गिरीले देशशमा तिव्र  गतिमा विकास ल्याउनका लागि बामपन्थी गठबन्धनका उमेदवारलाई विजयी गराउन आव्हान गर्नु भएको छ ।   निर्वाचन अभियानका क्रममा बिहीवार जलजला गाउँपालिका वडा नं. ८ नाग्लीवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको छ ।

स्रोत र साधनले भरिपूर्ण हाम्रो देशको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट योजना, काम गर्ने तत्परता र समन्वय गर्ने कार्यशैली बामपन्थीहरुसंग मात्रै भएकाले देशको तिव्र  विकासका लागि बाम गठबन्धनलाई सहयोग गर्न उहाँले आव्हान गर्नु भएको हो ।यो देशमा नेपाली कांग्रेसले तीन तीन पटकसम्म बहुमतको सरकार बनाउदा पनि स्थिर सरकार र विकास निर्माण कुनै नयाँपन दिन नसकेको आरोप लगाउदै उहाले छोटो समय सत्तामा बस्दा पनि बामपन्थीहरुले जनताले महसुस गर्ने खालका कार्यक्रम ल्याएको दावी गर्नु भयो ।

जनताले विभिन्न स्रोत परिचालन गरी निर्माण गरेका संरचनाहरुलाई मैले गरेको भन्दै कतिपय उमेदवारहरुले जस लिन खोजेको भन्दै उहाँले डेढ दशकसम्म जनताको अभिमत लिएर पनि जनतााका पक्षमा काम नगर्नेहरुको पछि नलाग्न आग्रह गर्नु भयो । कार्यक्रममा पर्वत जिल्ला क्षेत्र नं. १ प्रदेशसभा क मा बामपन्थी गठबन्धनका साझा उमेदवार नेकपा माओवादीका केन्द्रीय सदस्य नेत्रनाथ अधिकारीले स्थिर सरकार गठन गरी समृद्ध मुलुक निर्माणका लागि बाम गठबन्धनको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार विजय गुरुङ, एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा म्याग्दीका उमेदवार भूपेन्द्र थापा, एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक उमेदवार मनकुमारी केसी, प्रदेशसभामा एमालेका तर्फबाट समानुपातिक उमेदवार जुनादेवी विक, जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि पौडेलले बामपन्थी नेतृत्वमा विगतमा बनेका सरकारले गरेका राम्रा काम र आगामी दिनमा गर्नका लागि सार्वजनिक गरिएका प्रतिवद्धताका आधारमा बामपन्थी गठबन्धनलाई विजयी गराउन आव्हान गर्नु भएको थियो ।

कार्यक्रम संयुक्त निर्वाचन परिचालन कमिटि नाग्लीवाङका इन्चार्ज अनिता कुमारी पौडेल रेग्मीको अध्यक्षता, संयोजक सोमबहादुर जिसीको सञ्चालन र हरेम बहादुर खत्रीको स्वागतमा सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेस र नयाँ शक्ति नेपाल पार्टी परित्याग गरी ५० जना कार्यकर्ता बामपन्थी गठबन्धनमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रतिनिधिसभाका उमेदवार पदम गिरी, एमाले केन्द्रीय सदस्य तथा समानुपातिक उमेदवार मनकुमारी केसी लगायतले स्वागत गर्नु भएको थियो ।