म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सूरु(फोटोफिचर)
- १० मंसिर २०७४, आईतवार
- कमल खत्री
- 1854 पटक पढिएको
म्याग्दी, १० मंसिर ।म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन गराउन मतदान स्थलमा रहेका मतदान र सहायक मतदान अधिकृतहरुको टोलीले मतदानलाई अगाडी बढाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रहरुमा मतदान भईरहेको छ ।
रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ बर्षका खड्क बहादुर भण्डारीले मतदान गर्नुभएको छ । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागीता जनाएका छन् ।
निर्वाचनको लागि म्याग्दीमा साढे आठ सय जना कर्मचारी खटिएका छन् । जिल्लामा १०६ मतदान केन्द्रमा ८४७ जना कर्मचारी र शिक्षकलाई चुनावका लागि खटाइएको जनाएको छ । चुनावी सुरक्षाका लागि ठूलो संख्यामा जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिएपनी बाम र लोकतान्त्रीक गठबन्धनका उमेद्वारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा र नेपाली काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभाको क्षेत्र क मा माओवादी केन्द्रका बिनोद केसी र राप्रपाका भिमप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ख मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामी प्रतिस्पर्धामा उत्रिएका छन् ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l