म्याग्दीमा निर्वाचन सुरक्षा मजबुत छ,आचार संहिता विपरित कार्य गर्नेलाई कारबाही : प्रहरी (भिडियो सहित)

  • ७ मंसिर २०७४, बिहीबार
  • 2009 पटक पढिएको

म्याग्दी, ७ मंसिर । यही मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीको सुरक्षा बन्दोबस्तलाई मतबुत बनाईएको छ । निर्वाचनको पूर्वसन्ध्या देखि मतदान र मतपेटीका ढुवानी हूँदै मतगणना सम्मको सुरक्षा अबस्थालाई चुस्त बनाईएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचनलाई शान्त र भयरहित वातवरणमा सम्पन्न गराउनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार आयोजना गरेको सर्वदलिय सर्वपक्षिय छलफल कार्यक्रममा प्रजिअ अधिकारीले निर्वाचनको मिति नजिकिएसंगै जिल्लामा सुरक्षा अबस्था मजबुत बनाईएको बताउनुभएको थियो ।

‘‘ हरेक दल र सरोकारवाला आफ्नो आचार संहितामा बस्न सक्यौँ भने निर्वाचन शान्त हुन्छ, कुनैपनि पक्षबाट निर्वाचन विरोधी र आचार संहिता विपरित कार्य भएमा सुरक्षाकर्मीबाट तत्काल पक्राउ हुन्छ, र आवश्यक अनुसन्धान गरि कडा कारबाही पनि हुन्छ’’–प्रजिअ अधिकारीले भन्नुभयो । उहाँका अनुसार निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गराउन जिल्लामा जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको त्रिकोणात्मक समन्व्यका साथै तालिम प्राप्त म्याग्दी प्रहरीलाई ठुलो संख्यामा परिचालन गरिएको छ । उहाँले विगतका चुनावमा अशक्त, अपाङ्गको नाममा मतदानका दिन सवारी साधनमा मतदाना ओसार्ने गरीएको गुनासो आएको भन्दै यसपटक अनुमती लिएका भन्दा अन्य सवारी साधन सञ्चालन हुन नदिने जानकारी दिनुभयो ।


कार्यक्रममा प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले अबको तीन दिन राती ८ बजेपछि हिँड्नेहरुलाई निगरानी गर्ने र १० बजेपछि हिँड्नेलाई नियन्त्रणमा लिएर सोधपुछ नै गर्ने योजना रहेकाले सबै दलहरुले आफ्ना कार्यकर्ताहरुलाई सोही बमोजिम रहन आग्रह गर्नुभयो । मौन अवधिको सुरुवात संगै प्रहरीले मतदान सामाग्री र मतदान स्थल सम्मको सुरक्षा अवस्थालाई ध्यान दिनुपर्ने भएकाले दलहरुले संयमित भएर मौन अवधिको आचार संहितालाई पालना गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जाल, मदिरा, पैसा, मोटरसाईकल, गलत मोटीभेसन र शक्ति प्रर्दशनका कारण हुन सक्ने सम्भावीत घटनालाई दृष्टिगत गरी सुरक्षा रणनिती अपनाइएको बताउनुभयो । जिल्लाका सबै ठाउँमा सुरक्षा निकायको उपस्थिती रहेकाले चुनाव बिरोधी गतिबिधि, उमेद्वार आक्रमण र मतदातालाई त्रसीत बनाउनेलाई तत्कालै नियन्त्रणमा लिन सकिने प्रनाउ खड्काले बताउनुभयो ।

प्रचारप्रसारका क्रममा सुरक्षा चुनौतीको रुपमा रहेको विप्पल नेतृत्वको नेकपाको गतिबिधिलाई समेत निगरानी गरिरहेको प्रहरीले मौन अवधिमा हुने टोल वारलाई थप चुनौतीको रुपमा विश्लेषण गरेको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले मतदान स्थलबाट संकलन केन्द्र हुदै सदरमुकाम ल्याइने मतपेटिका गणना नहुँदा सम्मको लागि सिसी क्यामेराको निगरानीमा राखिने तयारी भएको बताउनुभयो । उहाँले निर्वाचन आचार संहिता उल्लङ्घन गर्नेलाई कडाईका साथ कारबाही गरिने भन्दै सचेत बनाउनुभयो ।

छलफलमा सहभागी राजनितिक दलका प्रतिनिधिहरुले सबै प्रतिस्पर्धी दल र उमेद्वारलाई निर्वाचन आयोग, प्रहरी, प्रशासनले समान ब्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । मतदातालाई प्रभावीत बनाउन एक अर्कोपक्षबाट आचार संहिता उल्लङ्घन भएको आरोप लगाएका दलका प्रतिनिधिहरुले शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा चुनाव सम्पन्न गराउन सघाउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सहभागी नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल र नेपाली काँग्रेसका जिल्ला सदस्य माधव प्रसाद रेग्मीले उमेद्वार र मतदाताको सुरक्षा, चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सर्तकता अपनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो । यसैगरी आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि म्याग्दीका १०६ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगीसकेका छन् । उनिहरुले मतदानको तयारीका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् ।