दुईनम्बर प्रदेशमा उम्मेदवारको घरदैलो र मतदाता भेटघाट कार्यक्रम

  • ६ मंसिर २०७४, बुधबार
  • 2450 पटक पढिएको

म्याग्दी,६ मंसिर । आसन्न निर्वाचनका लागि म्याग्दीको क्षेत्रनम्बर दुईमा वाम गठबन्धनका साझा उम्मेदवार नरदेवी पुनको चुनावलक्षित गाउँ अभियान कार्यक्रम जारीरहेको छ । यसैक्रममा बुधबार मंगला गाउँपालिकाको विभिन्न वडामा पुगेर मतदाता भेटघाट गर्नुका साथै घरदलौ कार्यक्रममार्फत वाम गठबन्धनका उम्मेदवारलाई भोट मागिएको छ ।


प्रदेशसभा (ख)का उम्मेदवार नरदेवी पुन, मङ्गला गाउँपालिका अध्यक्ष शतप्रसाद रोका, २ नम्बर वडा अध्यक्ष धनबहादुर खाती, वडा सदस्य राजु पाण्डे, ओमकार शेरपुञ्जा र अनेमसंघका पूर्व उपाध्यक्ष यशोदा रोकाले सिरकुम र सल्यानमा पुगी मतदातालाई भेटेर भोट मागेका छन् ।


उम्मेदवार पुनले यसअघि सांसद र राज्यमन्त्री हुँदा आफूले सुरु गरेका कामलाई थप बढावा दिनका लागि पुनः चुनावी मैदानमा होमिएको बताउँदै भोट दिएर जिताउन आग्रह गरेकी छिन् । उनले म्याग्दीमा हिँजोको समयमा पनि वामपन्थी पार्टीले नै विकास गरेको भन्दै वामपन्थीबाहेक अन्य पार्टीले केही गर्न नसक्ने भएकाले वामपन्थीको विकल्प नभएको बताइन् ।

यसैगरी मंगला गाउँपालिकाकै कुहुँ, पूर्णगाउँ र खानीगाउँमा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा घरदैलो कार्यक्रम गरी मतदाता भेटघाट गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु जितमान गौचन, डिलकुमारी केसी, युवा संघका मंगला गाउँपालिका संयोजक एकजित रोका र अनेरास्ववियुका जिल्ला सचिव एवं म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सभापति सावित्रा खत्रीले घरदैलो गर्नुका साथै मतदाता शिक्षा समेत दिएका थिए ।