जन्म दिनका अवसरमा सरस्वती आधारभूत विद्यालयका ६५ जना बालबालिकालाई सुईटर वितरण

  • ३ मंसिर २०७४, आईतवार
  • 2823 पटक पढिएको

म्याग्दी,३मंसिर । छोरीको जन्म दिनको अवसरमा बेनी नगरपालिका ७ हुलाकचोकका श्रेष्ठ परिवारले एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।

बेनी नगरपालिका ७ हुलाकचोकका स्थायी वासिन्दा एवम म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ र उहाँको धर्मपत्नी जुनु उदास श्रेष्ठले आफ्नो छोरीको जन्मदिनको अवसरमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।श्रेष्ठ परिवारद्धारा छोरी ज्यास्मिनको २० औं जन्मदिनको अवसर पारेर आइतवार बेनपा २ बगरफाँट स्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ६५ जना वालवालिकाहरुलाई सुइटर वितरण गर्नुभएको छ ।छोरीको जन्मदिन मनाउदा लाग्ने खर्चलाई बचाएर आर्थिक अवस्था कमजोर भएका वालवालिकालाई न्यानो कपडा प्रदान गरेको कुविर श्रेष्ठले बताउनुभयो ।

छोरी ज्यास्मिनले विपन्न र गरिव परिवारका बालबालिकाहरुलाई सहयोग गर्ने इच्छा देखाएकाले चिसो मौसममा वालवालिकाहरुलाई थोरै भएपनि राहत मिल्ने अपेक्षा सहित न्यानो कपडा सुइटर सहयोग गरेको उहाँले बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक कार्कीले विद्यालयमा पढने सवै वालवालिकाको आर्थिक अवस्था कमजोर भएकोले यस्ता वालवालिकालाई सक्दो सहयोग गर्न अरु परोपकारी मनहरुलाई पनि आग्रह गर्नु भएको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरिव र विपन्न वालवालिकालाई सहयोग गरेको भन्दै सहयोगी ज्यास्मिन श्रेष्ठको प्रशंसा गर्नुभयो । जन्म दिनका नाममा हुने फजुल खर्चलाई कटौती गरी समाजसेवामा लगाउनु उदाहरणिय कार्य भएको बताउनुभयो । विद्यालयमा गरिव र विपन्न परिवारका वालवालिकाहरुले अध्ययन गर्ने भएकाले आर्थिक एवम् भौतिक सहयोगको अपेक्षा गरिएको शिक्षक याम केसीले बताउनुभयो ।कार्यक्रम विद्यालयका प्रधानाध्यापक भरत कार्कीको अध्यक्षतामा शिक्षक नवराज शर्माको सञ्चालन र शिक्षिका देवि शर्माको स्वागतमा सम्पन्न भएको थियो ।