बाम गठबन्धनको शिख र घारमा आमसभा, बाम एकताको पक्षमा उर्लिदो जनलहर

  • २ मंसिर २०७४, शनिबार
  • 3787 पटक पढिएको

म्याग्दी, २ मंसिर । मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि म्याग्दीमा राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार अभियान चिब्र बनाएका छन् । पार्टी एकता गर्ने घोषणा सहित चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले जिल्लाव्यापि रुपमा चुनाब प्रचार प्रसारलाई आक्रमक बनाएको छ ।


अभियान अन्र्तगत शनिवार अन्नपूर्ण गाउँपालिका–६ घार र वडा नम्बर ५ शिखमा बाम गठबन्धनले चुनाबी आमसभा सम्पन्न गरेका छन् । शिखमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले केन्द्रिय पोलिट व्युरो सदस्य एवम् समानुपातिक उम्मेदवार थममाया थापाले सबै समुदाय, बर्ग र क्षेत्रलाई अधिकार सम्पन्न गराउँदै मुलुकको विकास र समृद्धिको लागि बामपन्थीहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

‘‘कम्युनिष्टहरुको संघर्ष र बलिदानबाट नेपालमा अहिले संघिय गणतन्त्रको स्थापना भएको छ, यसको संस्थागत र मुलुकको समृद्धि कम्युनिष्टहरुकै नेतृत्वले मात्रै सम्भव छ, त्यसको लागि आगामी निर्वाचनमा एमाले र माओवादीको बामगठबन्धनको बिजयी अपरिहार्य छ’’– नेतृ थापाले भन्नुभयो ।

कार्यक्रममा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका एमालेका भुपेन्द्रबहादुर थापाले स्थायी सरकार निर्माण गर्दै जनताको समृद्धिको चाहनालाई साकार पार्न बाम गठबन्धनको जित आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अन्नपूर्ण पदमार्गले समेटीएको यस क्षेत्रमा नयाँ पदमार्गको पहिचान, व्यवस्थापन संगै पर्यटनमैत्री वातावरण र विकास निर्माणको लागि आफुले पहल गर्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र क मा बामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका विनोद केसीले प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै म्याग्दीमा जलविद्यूत, पर्यटन, कृषि, पशुपालन, जडिबुटी लगायतको क्षेत्रको विकास र उपयोग मार्फत आर्थिक समृद्धि र स्वरोजगारको लागि बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बामपन्थी नेताहरुको पहलमा पोखरेवगर–घार– शिख सडकको स्तरोन्नतीको लागि बजेट विनियोजन भएको उल्लेख गर्दै यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन लगायतको विकास निर्माणको लागि बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, माओवादी केन्द्रका नेता टेकबहादुर विक, सुवास विश्वकर्मा, बागविर पाईज, एमाले नेता खड्ग गिरि लगायतले मुलुकमा राजनैतीक स्थायीत्व मार्फत समृद्धि हाँसिक गर्नका लागि एमाले र माओवादी केन्द्रबिच चुनाबी तालमेल र पार्टी एकताको सहमती भएको भन्दै गठबन्धनलाई बिजयी गराउनु पर्नेमा जोड दिएका थिए ।


कृष्ण तिलिजाको अध्यक्षता र नारायण पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबिच शनिवार नै अन्नपूर्ण गाउँपालिका–६ घारमा समेत बाम गठबन्धनको चुनाबी आमसभा सम्पन्न भएको छ । आमसभामा एमाले नेतृ थममायाँ थापा, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भुपेन्द्र थापा र प्रदेश सभा निर्वाचन क्षेत्र क का उम्मेदवार विनोद केसीले बामपन्थीहरुको दुई तिहाई सहितको सरकार निर्माण गरि मुुलुकलाई समृद्धिको दिशातर्फ लैजान आफुहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष देवेन्द्र केसी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, बाम गठबन्धनका नेताहरु सुवास विश्वकर्मा, फौदबहादुर बरुवाल, गोकुल बरुवाल, खड्ग गीरि, कोपिला बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । यामबहादुर खड्काको अध्यक्षता, राजाराम बरुवालको स्वागत र सुवास विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आम सभाको क्रममा बाम गठबन्धनको पक्षमा जनलहर बढेको जनाईएको छ ।