जिल्लाको समृद्धिको लागि आफुलाई बिजयी गराउन काँग्रेस उम्मेदवार गर्वुजाको आग्रह
- १ मंसिर २०७४, शुक्रबार
- 2273 पटक पढिएको
म्याग्दी,१ मंसीर ।नेपाली काग्रेस र राप्रपा गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले आगामी मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा जिल्लाको समृद्धि र जनताको मुहारमा खुसी ल्याउनका लागि आफुलाई जिताउनु पर्ने बताउनुभएको छ । शुक्रवार अन्नपूर्ण गाउँपालिका ४ दोवामा आयोजित चुनावि सभामा बोल्दै गर्वुजाले यस पटकको निर्वाचनमा लोकतान्त्रिक गठवन्धनले बहुमत ल्याएर जिल्लाको कायापलट गर्ने उद्घोष गर्नुभएको हो ।
काग्रेस राप्रपा गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी बनाउन मतदाताहरुसंग आग्रह गर्दै गर्वुजाले अपार प्राकृतिक सम्पदा र प्रचुर पर्यटकीय संभावना रहेकोे म्याग्दी जिल्लामा विकासको कामलाई तिब्रता दिने बताउनुभयो ।आर्थिक समृद्धिका लागि जलविद्युत,पर्यटन,उद्योग कलकारखाना,खानी उत्खनन् जस्ता दीर्घकालिन विकासका योजनाहरु संचालन गर्नुका साथै कृषि, पशुपालन, साना तथा कुटिर उद्योग संचालन, वनपैदावर जस्ता उत्पादनशील क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने र उनीहरुलाई आवश्यक लगानी र प्राविधिक ज्ञानका लागि विभिन्न किसिमका तालिमहरु संचालन गर्ने बताउनुभयो ।
त्यसैगरी प्रदेशसभा ‘क’का उम्मेदवार भीमप्रसाद गौचनले कम्यूनिष्टहरु अरुलाई वदनाम गरेर चुनाव जित्छौं भन्ने भ्रममा रहेका वताउँदै म्याग्दी जिल्लामा विकासका लागि आफुहरु मात्रै योेग्य रहेको दावि गर्नुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्र्रदेश सभा समानुपातिक उम्मेदवार विमला गौचन, राप्रपाका समानुपातिक उम्मेदवार डम्वर सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य ओम छन्त्याल लगाएतले काँग्रेस राप्रपा गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रम गाउँ कार्यसमितिका सभापति अध्यक्षा सुर्य राम्जालीको अध्यक्षता,गोपाल पुर्जाको संचालन र कमल पुनको स्वागतमा सम्पन्न भएको थियो ।