चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृतहरुका लागि तालीम सुरु

  • १ मंसिर २०७४, शुक्रबार
  • 2893 पटक पढिएको

बेनी १ मंसिर । म्याग्दीमा आगामी १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षण शुक्रबारदेखि बेनीमा सुरु भएको छ ।प्रशिक्षणको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा पारदर्शी रुपमा चुनाव सम्पन्न गराउनु प्रमुख दायीत्व सम्झिएर खटिने कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कर्मचारीबाट निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रश्न उठ्नेगरी काम भएमा त्यो अक्षम्य हुने बताउँदै निर्भीक रुपमा चुनावमा खटिन आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोगको निर्देशीका अनुसार म्याग्दीमा मतदान अधिकृतहरु गोलाप्रथाबाट छनौट गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले अमुख दलले अमुख कर्मचारीहरुको खटन पटनको विषयमा रुची र दबाव देखाएको बताउँदै चुनावलाई तटस्थ र मर्यादीत बनाउने विषयमा कसैसंग सम्झौता नहुने स्पष्ट पार्नुभयो ।

सबै किसीमको सुरक्षा चुनौतीको सामाना गर्ने सामर्थ रहेको बताउँदै प्रजिअ अधिकारीले निर्धक्क भएर आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो । उहाँका अनुसार धौलागिरी गाउँपालीका १ गुर्जामा भौगोलिक बिकटताका कारण हेलीकप्टर मार्फत निर्वाचन सामाग्री ढुवानी गर्न पहल गरिएको छ । निर्वाचन आयोगका सहसचिव डाक्टर हरि पौडेलले चुनावलाई मर्यादीत बनाउन आचारसंहिता पालनामा जोड दिनुभयो । आचारसंहिता पालनाप्रती सबै जिम्मेवार र संवेदनशिल बन्न आग्रह गर्नुभयो ।

म्याग्दीमा रहेका १०६ मतदान केन्द्रहरुमा जगेडा सहित खटिने २२० जनाको हाराहारीमा मतदान र सहायक मतदान अधिकृतहरुलाई दुई दिनका दरले दुई चरणमा तालीम दिइने निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गते दुवै चरणको प्रशिक्षण सकिएपछि मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी खटाउने काम सुरु हुनेछ ।

जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले स्वागत गर्नुभएको प्रशिक्षण उद्घाटन कार्यक्रमको सञ्चालन विद्यालय निरिक्षक तथा प्रशिक्षक विश्वप्रकाश रेग्मीले गर्नुभएको थियो । प्रतिनिधिसभामा १, प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र, ४५ वटा वडा, ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०६ मतदान केन्द्र रहेका छन् । ७५ हजार ५३८ जना मतदाता रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी मैदानमा छन् ।