पक्राउ परेका कार्यकर्तालाई निसर्त रिहाई गर्न नेकपाको माग
- १ मंसिर २०७४, शुक्रबार
- 2175 पटक पढिएको
म्याग्दी, १ मंसिर । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई निसर्त रिहाई गर्न माग गरेको छ । नेकपा म्याग्दीका सेक्रेटरी पदम पुन (फिल्टर)ले स्थानीय पत्रकारहरुलाई बिहीबार फोन गरी पढेर सुनाएको प्रेस विज्ञप्ती मार्फत कात्तिक २४ गते बेनीमा पक्राउ परेका प्रेम श्रीस र २५ गते मालीका ३ अदीभाराबाट पक्राउ परेका जगत पुनलाई रिहाई गर्न माग गर्नुभएको हो ।
कुनै राजनितिक दललाई आस्था राख्न पाउने राजनितिक अधिकार हनन् गर्दै आफ्नो पेशा व्यवसाय गरिरहेका व्यक्तिलाई पक्राउ गरेको भन्दै उहाँले आपत्ती जनाउनुभएको छ । “पक्राउ परेका कार्यकर्ताको निशर्त रिहाईको माग गर्दछु” पुनले भन्नुभयो । आसन्न चुनाव बिरोधी गतिबिधिमा संलग्न भएको आरोपमा प्रहरीले नेकपाका कार्यकर्ता श्रीस र पुनलाई नियन्त्रणमा लिएको छ ।