निर्वाचन आचार संहिता विपरित विद्युतका पोल वितरण

  • ३० कार्तिक २०७४, बिहीबार
  • 4690 पटक पढिएको

म्याग्दी,३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ ।

बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल गाउँमा पुग्ने भन्ने विषयमा बिवाद भएपछि बुधबार पु¥याइएको पोल गाड्ने काम भएको छैन् । नेपाली काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजा र राप्रपाका प्रदेशसभा क्षेत्र (क) उमेद्वार भिमप्रसाद गौचनको दवावमा प्राधिकरणले आचार संहिताको धज्जी उडाउँदै नगरपालीका र अन्य गाउँपालीकाहरुमा धमाधम विद्युतका पोल वितरण गरिएको एमाले माओवादीका नेताहरुले आरोप लगाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचार संहिता अनुगमन अधिकृत छविन्द्र बेल्बासेले आचार संहिता लागू भएको अवस्थामा पोल वितरण गर्न नपाइने बताउनुभयो । घतानमा विद्युत प्राधिकरणले पोल वितरण गरेको विषयमा अनौपचारीक सूचना आएको बेल्बासेले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले भाँचीएको पुरानो पोलको विकल्पमा बदली गर्न नयाँ पोल उपलब्ध गराइएको बताउनुभयो । दुर्घटनाको जोखिम भएकाले पोल उपलब्ध गराएको बताउँदै न्यौपानेले नयाँ विद्युतीकरण गर्ने ठाउँमा भने नदिएको दावी गर्नुभयो ।

सो स्थानमा एक वटा पोल भाँचीएको भएपनी प्राधिकरणले दुई वटा उपलब्ध गराउनु रहस्यको विषय बनेको छ । चुनावको समयमा नेता र उमेद्वारहरुले मतदातालाई प्रभावीत पार्न कार्यालय प्रमुखहरुसंग मिलेर विद्युतका पोल, खानेपानी र सिचाईका पाईप वितरण गर्ने अभ्यास रहेको बताईन्छ ।