बालाचर्तुदशी मेलाको तयारी पूजा
- ३० कार्तिक २०७४, बिहीबार
- 2565 पटक पढिएको
म्याग्दी, ३० कात्तिक । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा बालाचतुर्दशी तथा सतविजारोपण मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बालाचर्तुदर्शी मेलाको अवसरमा दिवंगत आफन्तको सम्झनामा सतविज रोपण गर्दा प्रितीहरुको उद्दार हुने धार्मिक जनविश्वास छ । सतविज रोपणका लागि म्याग्दीका विभिन्न भागका साथै पर्वत, बागलुङ, कास्की, मुस्ताङ लगायत देशका दुरदराजबाट समेत भक्तजनहरु गलेश्वर पुग्ने गरेका छन् । सतविज रोपण तथा पुजापाठका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले व्यवस्थापन, सुरक्षा प्रबन्ध र सरसफाई लगायतको सम्पूर्ण पूरा गरेको कोषका सदस्य सचिब माधबप्रसाद रेग्मीले जानकारी दिए ।
‘निर्वाध रुपमा पुजापाठको व्यवस्था हामीले मिलाएका छौँ । तर, भीडभाड हुने भएकाले भक्तजनहरुलाई बहुमूल्य गरगहना बिना मन्दिर आईदिन हुन अनुरोध छ’, उनले भने । सतविज रोपणका लागि गलेश्वर जाने धार्मिक पर्यटकका लागि यातायातको व्यवस्था, व्यवस्थित तरिकाले लाइन र पुजापाठका लागि स्वयसेवक परिचालन हुने कोषले जनाएको छ । गतबर्षको बालाचर्तुदशी मेलामा ३० हजार भक्तजनले सतविज रोपण गरेको कोषका सदस्य सचिब रेग्मीले जानकारी दिए । बालाचर्तुदशी मेलाकै अवसरमा हरेक बर्ष आयोजना हुने ऐतिहासिक खेलकुद मेला भने यसबर्ष प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको छ ।