विकास र सम्बृद्धीको नेतृत्वका लागि बामगठबन्धनको विकल्प छैन– थापा

  • २८ कार्तिक २०७४, मंगलवार
  • सन्तोष गौतम, कमल खत्री
  • 2976 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी भएको संबिधानको कार्यान्वयन गर्दै देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन चुनावी तालमेल र पार्टी एकताको सहमती भएको बताउनुभयो । म्याग्दीको विकासका लागि अहिलेसम्म भएका पहललाई सफल बनाउन आगामी चुनावमा बाम गठबन्धनलाई जिताउन थापाले आग्रह गर्नुभयो ।

“काँग्रेसले २०४८ सालमा कम्प्युनिष्टले जिते वृद्धवृद्धालाई गोली ठोकेर मार्छ भनेर प्रचार गरेको थियो, २०५२ सालमा एमालेले नेतृत्व गरेको सरकारले जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मात्र गरेन् आफ्नो गाउँ आफै बनाउँ भन्ने कार्यक्रम ल्यायो” थापाले भन्नुभयो “बामगठबन्धन प्रतीको जनलहरका कारण अत्तालीएको काँग्रेसले फिजाँएको भ्रममा नपरी कम्प्युनिष्टलाई पाँच वर्षसम्म सरकार चलाएर जनताको जिवनस्तर सुधार गर्ने र गाउँ गाउँमा विकासको लहर ल्याउने अवसर दिनुहोसा ।”

प्रदेशसभा क्षेत्र (क) का माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले पञ्चायतकालमा राखुका चार वटा पञ्चायतलाई गाभेर २ वटा बनाएपछि विकासमा पछि र ओझेलमा परेको राखुका लागि आफ्नो उमेद्वारी अवसर भएको बताउँदै त्यती बेला अन्यायमा परेका जनतालाई न्याय दिलाउन प्राथमिकता दिने बताउनुभयो । अलपत्र परेको राहुघाट जलविद्युत आयोजनालाई अघि बढाउन प्राथमिकता दिने बताउनुभयो ।

माओवादी नेतृत्वमा रहेको यसअघिको सरकारको पहलमा गलेश्वर पिप्ले हुदै भगवती बेग र मौवाफाँट दग्नाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाको डिपीआर तयार भएको र कार्यान्वयनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नेपालमा छोटो समय सरकारको नेतृत्व गरेका कम्प्युनिष्ट पार्टीले सुरुवात गरेका जनमुखी कामलाई निरन्तरता दिदै थप कार्य गर्न एमाले माओवादीका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

नेकपा एमालेका उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले एमाले माओवादीबीच चुनावी तालमेल मात्र नभएर छिट्टै पार्टी एकता हुन लागेको बताउनुभयो । एमाले भगवती गाउँ कमिटिका अध्यक्ष धु्रब सुवेदीको अध्यक्षता, एमालेका नेता दिपक बिखर्चीको सञ्चालन र वडा अध्यक्ष रिम कटुवालको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा वामपन्थी युवा नेता रेशम जुक्जाली, माओवादी केन्द्रका टेकबहादुर विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र पुर्व अध्यक्ष जिबनबहादुर विश्वकर्माले नेपालका सबै वर्ग, समुदायको हितमा काम गर्ने बामपन्थीलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनवादी कलाकार डम्मर पुर्जाले गित र अन्य कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । गठबन्धनले सोमबार साँझनै रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा चुनावी सभा गरेको छ ।

सन्तोष गौतम, कमल खत्री