भोट माग्न म्याग्दीका उमेद्वार पोखरामा

  • २५ कार्तिक २०७४, शनिबार
  • 3311 पटक पढिएको

 

म्याग्दी २५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारका क्रममा म्याग्दीका उमेद्वारहरु भोट माग्न शनिबार पोखरा पुगेका छन् । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार प्रतिनिधिसभाका भुपेन्द्रबहादुर थापा र बिनोद केसी तथा दुवै पार्टीका नेताहरुको टोलीले पोखरामा बसोबास गर्ने म्याग्देलीहरुलाई भोट माग्न पुगेका हुन् ।

शनिबार पोखरामा आयोजित म्याग्दी घर भई पोखरामा बसोबास गर्ने बामपन्थीहरुको भेलालाई कास्कीका उमेद्वारहरुले समेत सम्बोधन गरेका थिए । भेलामा कास्कीमा प्रतिनिधिसभाका एमालेका उमेद्वार रविन्द्र अधिकारी र माओवादी केन्द्रको क्षेत्र नम्बर २ (ख)का उमेद्वार राजकाजी गुरुङ (करण)ले बामगठबन्धन र एमाले माओवादीबीचको पार्टी एकता नेपालको राजनितिक स्थाईत्व, विकास र सम्बृद्धीका लागि भएको बताउनुभयो ।


म्याग्दीका प्रतिनिधिसभाका उमेद्वार एमालेका बैकल्पीक सदस्य भुपेन्द्रबहादुर थापाले नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार बाम गठबन्धन बनेको स्पष्ट पार्दै गठबन्धनबाट आत्तिएको काँग्रेसले फिजाँएको अधिनायकवादको भ्रम र त्रासमा नपर्न आग्रह गर्नुभयो । म्याग्दी प्रदेशसभा क्षेत्र (क)का माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले नेपाललाई अग्रगमनको दिशामा अघि बढाउदै गणतन्त्र र संघीय व्यवस्थाको संस्थागत विकासका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एमाले माओवादीबीच चुनाव लगत्तै पार्टी एकता पनी हुन लागेको बताउँदै म्याग्दीका तिन वटै क्षेत्रमा बाम गठबन्धनको जित सुनिश्चित रहेकाले उत्साहका साथ प्रचारमा जुट्न आग्रह गर्नुभयो । रोजगारी, पेशा, ब्यवसायका लागि र बसाईसराई गरेर पोखरामा बसोबास गर्ने मतदाताहरुको संख्या उल्लेख्य रहेकाले गठबन्धनका उमेद्वारहरु उनिहरुलाई भोट माग्न पोखरा पुगेका हुन् । नेकपा माओवादी केन्द्र कास्कीका सहसंयोजक कृष्ण गिरी (विज्ञान)को अध्यक्षता, एमाले नेता किरण सापकोटाको सञ्चालन र नारायण पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा पुन समाज नेपालका बरिष्ठ उपाध्यक्ष खिमन शेरपुञ्जाले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।