वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु

  • २२ कार्तिक २०७४, बुधबार
  • सन्तोष गौतम
  • 2345 पटक पढिएको

म्याग्दी, २२ कात्तिक । चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बुधबारदेखि म्याग्दीमा दोस्रो चरणको चुनावी सभा सुरु गरेका छन् । पहिलो चरणमा प्रदेशसभा–२ को मंगला गाउँपालिकाबाट प्रचार अभियान थालेको वाम गठबन्धनको टोलीले आजबाट प्रदेशसभा १ अन्तर्गत बेनी नगरपालिका–३ भकिम्लीबाट दोस्रो चरणको अभियान सुरु गरेको हो ।

भकिम्लीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार थममाया थापाले वामपन्थीको अगुवाइमा जारी भएको संविधानको पूर्ण कार्यान्वयनका लागि वाम गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताइन् । उनले नेपालमा भएका हरेक आन्दोलनमा वामपन्थी पार्टीले नेतृत्वदायी भूमिका खेलेको बताउँदै समाजमा पिछडिएका वर्गको उत्थानका लागि कम्युनिष्ट पार्टीहरुको विजय अनिवार्य भएकोमा जोड दिएकी छिन् ।


सोही सभामा एमाले वैकल्पिक केन्द्रीय सदस्य एवं वाम गठबन्धनको प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापाले देशको विकास र समृद्धिका लागि वाम गठबन्धनले जित्नुपर्ने बताउँदै उनले आफूले जितेमा जनपक्षीय कामको सुरुवात गरी बेरोजगारलाई आत्मनिर्भर एवं रोजगारको सिर्जना गर्ने बताए । उनले नेपालमा बनेका वामपन्थी सरकारले जनताको पक्षमा काम गरेकोमा जोड दिँदै पुराना कामलाई निरन्तरता र नयाँनयाँ कामको थालनी गर्नका लागि वाम गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

वाम गठबन्धनको प्रदेशसभा १ का साझा उम्मेदवार विनोद केसीले जिल्लाको पर्यटन, जलस्रोत, जडिबुटी, खनिज पदार्थ र कृषि क्षेत्रको पहिचानसहित बेरोजगार युवालाई स्वदेशमै रोजगारको सिर्जना गर्न आफूले पहल गर्ने बताउँदै स्थानीयको आयआर्जनमा वृद्धि गर्ने आफ्नो लक्ष्य भएकाले वाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले देशको विकास गर्न स्थिर सरकारको आवश्यकता रहेको औंल्याउँदै बहुमत ल्याउने पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताए । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले गठबन्धनसँगै पार्टी एकताको सहमति गरिएका हुँदा गाउँ टोलसम्म सोही अनुसार खटेर वामपन्थी उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा एमाले जिल्ला उपसचिव देवबहादुर घले र माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्माले आफ्नो गाउँ आफै बनाऔं, युवा स्वरोजगार, व्यवस्थित शहर निर्माण, देशमा लोर्डसेडिङमुक्त लगायतका थुप्रै कामहरु वामपन्थी सरकारले गरेको हुँदा आसन्न चुनावबाट पनि वामपन्थीलाई नै जिताउनुपर्नेमा जोड दिए ।
स्वतन्त्र वामपन्थी नेता तथा भकिम्लीका वडाध्यक्ष पदम पुनको अध्यक्षता, वाईसीएल जिल्ला अध्यक्ष भोजबहादुर थापाको सञ्चालन र एमालेका वडाध्यक्ष तिलबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा कलाकार डम्बर पूर्जालगायत अन्य कलाकारहरुले जनवादी गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 

 

सन्तोष गौतम