बेनी नगरपालिका–८ मा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन

  • २२ कार्तिक २०७४, बुधबार
  • 3363 पटक पढिएको

म्याग्दी, २२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–८ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको लागि चुनाब प्रचार प्रसार समिति गठन भएको छ ।


भेलाले रामकृष्ण बराईली संयोजक र देवी केसी सहसंयोजक रहेको ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । बलाराम सुवेदीको अध्यक्षतामा भएको बाम गठबन्धनको संयुत्त वडा भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले आगामी निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


ईतिहाँसले नेपालमा दुई तिहाई बहुमत सहितको कम्युनिष्टहरुको सरकार बनाउने सम्भावना बढेर गएको उल्लेख गर्दै जिल्लामा एमाले र माओवादी बिच भएको तालमेलले बामपन्थीहरुको बिजयी सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर क मा बामगठबन्धनका साझा उम्मेदवार विनोद केसीले समग्र म्याग्दीको विकास र कम्युनिष्टहरुको बहुमतको सरकार निर्माण गरि मुलुकमा स्थायी सरकार गठनको लागि गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदी, नेकपा माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य सुवास विक, वेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईली लगायतले पार्टी एकता सहित बाम तालमेल गरेका एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरुले जिल्लामा समेत संयुक्त परिचालन, अन्तरघुलन हुँदै समुदाय स्तरमा पुगेर उम्मेद्वारहरुको प्रचार प्रसारमा लाग्न आग्रह गर्नुभयो । बलराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लिलाराम गौतमले गर्नुभएको थियो । म्याग्दीमा बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र नम्बर क मा माअ‍ोवादी केन्द्रका विनोद केसी र क्षेत्रनम्बर ख मा एमालेकी नरदेवी पुन साझा उम्मेदवारको रुपमा रहनुभएको छ ।