जलजलामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण
- २० कार्तिक २०७४, सोमबार
- सन्तोष गौतम
- 2091 पटक पढिएको
पर्वत २० कात्तिक । जलजला गाउँपालीकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङकको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने भएको छ ।
गाउँपालीकाको खातामा आवश्यक भन्दा रकम रकम आएकाले दसै अघिनै वितरण गरिनुपर्नेमा बितरण हुन सकेको थिएन् । बैङ्कमा पठाउनुपर्ने रकम वडालाई निकासा गरि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाइएको गाउँपालीकाका प्रवत्ता तथा ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो ।
आईतबार बसेको गाउँ कार्यपालीकाको बैठकले भण्डारीलाई प्रवत्तामा नियुक्त गर्ने निर्णय गरेको हो । प्रवत्ता भण्डारीका अनुसार अपाङ्गता भएका र असाहयहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । ९ वटै वडालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि रकम निकासा गरिएको गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताउनुभयो ।
बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा आउँदा दुख र झञ्जट भएको थियो । बेनी आउँदा र जाँदा पाउने सामाजिक सुरक्षा भत्ता बराबरको खर्च गर्नुपर्ने अवस्था थियो । गाउँपालीकाले वडाबाटै भत्ता वितरण गर्ने निर्णयले लाभग्राहीलाई राहत मिलेको छ ।