सिंगामा एमाले र माओवादीको संयुक्त अगुवा कार्यकर्ता भेला

  • १८ कार्तिक २०७४, शनिबार
  • 4297 पटक पढिएको

म्याग्दी, १८ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बेनी नगरपालिका–४ सिंगामा शनिवार संयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर क का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका अगुवा कार्यकर्ताहरुको भेला गरिएको हो ।


सो भेलालाई सम्बोधन गर्दै प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार केसीले मुलुकको आर्थिक समृद्धिको लागि बामपन्थीहरुको स्थायी सरकार निर्माण गर्ने अभियान अन्र्तगत एमाले र माओवादीबिच तालमेल भएको बताउँदै बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।


मुलुक गणतन्त्रमा रुपान्तरण हुँदा समेत लोकतान्त्रिक गठबन्धनले राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर चुनाबमा आउनुले उनीहरु प्रतिगमनतर्फ उन्मुख भएको बताउँदै परिवर्तनकारी बामगठबन्धनको पक्षमा देखिएको जनमतले आफुहरु उत्साहित बनेको बताउनुभयो ।


युवा नेता केसीले म्याग्दीको जलस्रोत, जमिन, बन जंगल, जडिबुटी, युवा जनशक्तिको उपयोग तथा पर्यटनको विकास मार्फत जिल्लालाई समृद्ध र रोजगारिको लागि विदेशीनुपर्ने बाध्यतालाई न्युनीकरण गर्ने एजेण्डा लिएर चुनाबमा होमिनुभएको छ ।


कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिब देवबहादुर घलेले देशभर नै बामपन्थीहरुको तालमेल हुनु उत्साहजनक कुरा भएको बताउँदै बामतालमेललाई सफल गराउनु अहिलेको प्रमुृख आबश्यकता रहेकोमा जोड दिनुभयो ।


कार्यक्रममा प्रदेश क्षेत्रनम्बर क का प्रचार प्रसार संयोजकद्धय सन्तोष रावल, शेरबहादुर केसी र एमाले बेनी नगर कमिटी अध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको विकासको लागि बामपन्थीहरुको नेतृत्व आवश्यक रहेको र बामतालमेलप्रति जनताको विश्वास बढेर गएको बताउनुभयो ।


कार्यक्रममा बामपन्थी नेता सुवास श्रेष्ठले कम्युनिष्ट दलहरु बिच चुनाबी तालमेल र निकट भविश्यमै पार्टी एकता गर्ने एमाले माओवादी केन्द्रको सहमतीले जनतामा खुसी ल्याएको धारणा राख्नुभयो ।

एमाले वडा अध्यक्ष खडानन्द कँडेलको अध्यक्षता, माओवादी वडा अध्यक्ष भगवान खड्काको स्वाग तर तेजबहादुर बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाम तालमेलबाट म्याग्दीमा प्रदेश सभा क मा माओवादी केन्द्रका विनोद केसी, प्रदेश सभा ख मा एमालेकी नरदेवी पुृन र प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापा साझा उम्मेद्वारको रुपमा रहनुभएको छ ।