बाम गठबन्धनको धौलागिरी गाउँपालीकामा चुनावी अभियान
- १७ कार्तिक २०७४, शुक्रबार
- 3771 पटक पढिएको
बेनी १७ कात्तिक । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबारदेखि धौलागिरी गाउँपालीकामा संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् । मंगला र मालीका गाउँपालीकाका वडा स्तरमा चुनावी सभा सकेका गठबन्धनका उमेद्वार सहितको टोलीले धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबार संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् ।
आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले नेपालमा आगामी दश वर्षभित्र गरिवी उन्मुलन गर्न स्थीर सरकार बनाउनका लागि एमाले माओवादीबीच तालमेल र पार्टी एकताको सहमती भएको बताउनुभयो । राजनितिक स्थिरता र विकासका लागि बामपन्थीको सरकार आवश्यक रहेको थापाको भनाई थियो । एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले नेपाली राष्ट्रियता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको पूर्ण संरक्षण तथा संम्र्वद्धन गर्दै विकास र आर्थिक सम्बृद्धीको लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।
प्रदेशसभा क्षेत्र ख मा बाम गठबन्धनको तर्फबाट साझा उमेद्वार एमाले नेता नरदेवी पुनले दरवाङ ताकम ढोरपाटन निर्माण, धौलागिरी चक्रिय पदमार्गलाई व्यवस्थित गर्ने, विद्युतीकरण विस्तारमा प्राथमिकता दिने बताउनुभयो । माओवादीका प्रतिनिधिसभाका समानुपातीक उमेद्वार टेकबहादुर विश्वकर्माले कम्प्युनिष्ट पार्टीहरुको नेतृत्व र पहलमा भएको परिवर्तनका आन्दोलनबाट भएका राजनितिक उपलब्धिको रक्षा गर्न बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुन र माओवादी केन्द्रका नेता खुमनाथ सुवेदीले विगतमा एमाले, माओवादीको नेतृत्वका सरकारले गरेका जनपक्षिय कामलाई निरन्तरता दिन बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । बत्ताहरुले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमती कार्यान्वयन भएर नेपालमा एउटै कम्प्युनिष्ट पार्टी बन्नेमा विश्वस्त रहेर एकतावद्ध भई चुनाव प्रचारमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए । माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष यामन रोकाको अध्यक्षता, किरन थापाको सञ्चालन र वडा अध्यक्ष कलानीधि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।