म्याग्दीमा हतियार बुझाउन अटेरी

  • १४ कार्तिक २०७४, मंगलवार
  • 5865 पटक पढिएको

म्याग्दी, १४ कात्तिक । व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका म्याग्दीका सर्वसाधारणले प्रशासनको अनुरोधलाई अटेरी गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कात्तिक ८ गते सार्वजनीक सूचना जारी गर्दै हतियार बुझाउन अनुरोध गरेको थियो ।

प्रशासनले कात्तिक १५ गतेभित्र नजिकका प्रहरी ईकाई मार्फत हतियार बुझाउन आग्रह गरेपनी मंगलबारसम्म ५ जनाले मात्र बुझाएका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । प्रशासनबाट कानुन बमोजिम अनुमती लिएर म्याग्दीका ८६ जनाले व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका छन् । अधिकांशसंग टुभेल्वर बन्दुक छ । टाढा भएको र सबैलाई सूचना नपुगेकाले पनी निर्धारीत मितिमा सबैले हतियार नबुझाएको हुन सक्ने बताउदै सहायक प्रजिअ आचार्यले ताकेता गरिने बताउनुभयो ।

प्रशासनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न कानुन बमोजिम ईजाजत पत्र लिई हातहतियार राखेका व्यक्तिहरुलाई आग्रह गरेको थियो । अनुमती लिएर प्रशासनको आग्रहलाई अटेरी गर्ने र अबैध हतियार म्याग्दीको चुनावी सुरक्षाका लागि चुनौती देखिएका छन् । हतियारको आडमा कतिपयले मतदातालाई त्रसीत र आतंकीत बनाई स्वतन्त्र रुपमा मताधिकार प्रयोग गर्नबाट बञ्चित गर्न सक्ने भएकाले सुरक्षा चुनौती बढेको हो ।

निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन सबै बैध हतियार संकलन तथा अबैध हतियार नियन्त्रणमा सुरक्षा निकायले ध्यान दिनुपर्ने देखिएको छ । प्रशासनले निर्वाचन अवधिभर कुनै पनि प्रकारको हात हतियार, बिस्फोटक पदार्थ वा बिषालु पदार्थ, लाठी भाला, खुकुरी जस्ता हात हतियार लिएर हिडडुल गर्न गराउन वा प्रर्दशन गर्न निषेध गरेको जनाएको छ । घरेलु मदिरा वा मदिरा जन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउदै सूचनाको अवज्ञा गर्नेलाई कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।