निरन्तर सिकाईको लागि ५७ सिकाई कक्षा सञ्चालन गरिने

  • १२ कार्तिक २०७४, आईतवार
  • 2127 पटक पढिएको

म्याग्दी १२ कात्तिक । अनौपचारिक शिक्षा तथा निरन्तर सिकाईको लागि म्याग्दीमा यस बर्ष ५७ वटा सिकाई कक्षा सञ्चालन गरिने भएको छ । साक्षरता अभियानको क्रममा अघिल्ला बर्षहरुमा सञ्चालन भएका अनौपचारिक शिक्षाका विभिन्न कक्षाहरुमा सहभागी भएकाहरुलाई निरन्तर सिकाईको लागि समुदाय स्तरमा सिकाई कक्षा सञ्चालन गर्न लागिएको हो । अनौपचारिक शिक्षाबाट सामान्य लेखपढ गर्न सक्ने भएकाहरुलाई लेखाई र पढाईमा थप क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबिच जिल्ला शिक्षा कार्यालय अन्र्तगत रहेको अनौपचारिक शिक्षा शाखाले आईतवार चालु आर्थिक बर्षमा निरन्तर शिकाईको लागि सञ्चालन गर्ने कार्यक्रमहरुबारे सरोकारवालाहरुलाई जानकारी गराएको छ । कार्यक्रममा कार्यालयका विद्यालय निरिक्षक रामकरण पालले गत वर्ष सञ्चालीत २२ वटा सिकाई केन्द्रलाई यस बर्ष पनि निरन्तरता दिने बताउनुभयो । उहाँले यस बर्ष ५७ वटा सिकाई कक्षाको कोटाका लागि बजेट आएको बताउनुभयो । जिल्लाभर सञ्चालन हुने ५७ वटा सिकाई कार्यक्रममा ८५८ जनालाई सहभागी बनाउने लक्ष्य राखिएको छ ।

माघ देखि चार महिना सञ्चालन हुने सिकाई कक्षामा आधारभुत शैक्षिक ज्ञान प्रदान गरिने विद्यालय निरिक्षक पालले बताउनुभयो । सो कार्यक्रम सञ्चालनका लागि शिक्षा कार्यालयलाई यस वर्ष १८ लाख ९४ हजार ३९० रुपैया बजेट प्राप्त भएको छ । सबै सिकाई केन्द्रमा एक जनाका दरले सहजकर्ता समेत परिचालन गरिने भएको छ । एउटा कक्षामा १५ जना सहभागी हुनेछन् ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको जानकारी गराउँदै तयारी सुरु गरिएको बताउनुभयो । साक्षर भएका नागरीकको क्षमत्ता विकास र सिकाईको निरन्तरताका लागि यिस कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । स्रोत व्यक्ति डेक बहादुर बानियाँको स्वागत र मोहन बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनपा ६, ७ र ९ का वडा अध्यक्षहरु कृष्णबहादुर बानिया, राजेन्द्र श्रेष्ठ र बेलबहादुर कटुवालले सिकाई केन्द्रको प्रभावकारीताका लागि सहभागीहरुको निरन्तरतामा जोड दिनुभयो । प्रकाश मावीका प्रअ हरिकृष्ण सुवेदीले कक्षा ८ उतिर्ण गरेर बिचैमा पढाई छाडेकाहरुका लागि खुल्ला विद्यालयमा भर्ना भएर एसईई परिक्षामा सहभागी हुने व्यवस्था रहेको बताउनुभयो । प्रकाश माविका वि.स २०६६ देखि सञ्चालीत सो खुल्ला विद्यालयमा यस वर्ष १६ जना भर्ना भएका छन् ।