म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने
- १० कार्तिक २०७४, शुक्रबार
- कमल खत्री
- 2829 पटक पढिएको
म्याग्दी, १० कात्तिक ।म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।जिल्ला अनौपचारीक शिक्षा समितिको शुक्रबार बसेको बैठकले आगामी माघ ८ गते बसन्त पञ्चमी (सरस्वती पुजा)को दिन म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले नेपालको ३९ औँ जिल्लाको रुपमा म्याग्दीलाई साक्षर जिल्ला घोषणाको लागि अनौपचारिक शिक्षा केन्द्रलाई पत्राचार समेत गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्या मध्य ७९ हजार ७३९ जना नागरीक साक्षर बनेको पाईएको हो ।लक्षित समुदायका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्था अनुसार म्याग्दीलाई साक्षर घोषणा गर्न लागिएको हो । प्रदेश नम्बर ४ मा म्याग्दी र पर्वत बाहेक अन्य सबै जिल्ला साक्षर घोषणा भएका छन् ।
म्याग्दीमा हालसम्म २२ वटा वडालाई साक्षर घोषणा गरिएको छ । वि.स २०६६ देखि निरक्षरलाई साक्षर बनाउन जिल्लामा सामुदायिक शिकाई केन्द्र, अनौपचारिक पौढ विद्यालय, खुला विद्यालय लगायतको माध्ययमबाट साक्षरता कक्षा सञ्चालन हुदै आएको छ । यसैबिच साक्षर जिल्ला घोषणा लक्षित अन्र्तक्रिया कार्यक्रम शुक्रवार बेनीमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र अनौपचारीक शिक्षा केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुले जिल्लाका सवै वडा हुँदै स्थानीय तहलाई छिट्टै साक्षरयुक्त घोषणा गर्दै साक्षर जिल्ला घोषणालाई सघाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा अनौपचारीक शिक्षा केन्द्रका उपनिर्देशक बालकृष्ण गैरेले सन २०१५ भित्रैमा नेपालका हरेक नागरिकलाई आधारभुत स्तरको साक्षर बनाउने सरकारले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिवद्धता गरेको भएपनि केही बर्ष ढिला गरि साक्षरता अभियानले सार्थकता पाउन थालेको बताउनुभयो । उहाँले मानव विकास सुचकाङक र सामाजिक प्रतिष्ठामा बद्दोत्तरीका साथै साक्षर भएकोमा गौरबको महसुसका लागि पनि साक्षर जिल्ला घोषणा महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । अहिले अनौपचारिक शिक्षामा जोड दिएको केन्द्रले साक्षर जिल्ला पश्चात सामान्य साक्षर भएकाको थप सिकाई र निरन्तर शिक्षकाईका लागि कार्यक्रम सञ्चालन गर्ने उपनिर्देशक गैरेले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले साक्षरताको आबश्यक मापदण्ड पुरा म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको बताउँदै जिल्ला अनौपचारीक शिक्षा समितिको निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तह र सरोकारवालाहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र रघुगंगा गाउँपालीकाका अध्यक्ष भबहादुर भण्डारीले म्याग्दीलाई साक्षर जिल्ला बनाउने अभियानमा वडा र नगर तथा गाउँपालीकालाई साक्षर घोषणा गर्ने कार्यलाई महत्वका साथ सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका जिसस प्रमुख केसीको अध्यक्षता, जिशिख श्रेष्ठको स्वागत र अनौपचारीक शिक्षा केन्द्रका उपनिर्देशक गैरेले सहजिकरण गर्नुभएको कार्यक्रमको केन्द्रका शाखा अधिकृत रुद्र भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l