म्याग्दीमा ६ जनाले लिए उम्मेद्वारी फिर्ता
- ८ कार्तिक २०७४, बुधबार
- 7255 पटक पढिएको
म्याग्दी, ८ कात्तिक ।आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्याग्दीमा उम्मेद्वारी दिएका १९ जना मध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधि सभामा एक, प्रदेश क्षेत्र नम्बर १ मा ४ र प्रदेश क्षेत्र नम्बर २ मा १ जना गरि ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिनुभयो ।
प्रदेश सभामा राप्रपालाई सघाएको विरोधमा प्रदेश क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका काँग्रेसका पूर्व जिल्ला सहसभापती नेत्रबहादुर महत र जिल्ला सदस्य कर्णबहादुर भण्डारी (केबी) ले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिएका हुन् ।
त्यस्तै, राप्रपा प्रजातान्त्रिकको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वारी दर्ता गरेका रुपनारायण श्रेष्ठ, प्रदेश क्षेत्रनम्बर १ का उम्मेद्वार बलबहादुर सुनार, र प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार तिलाराम दमाईले समेत आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।
त्यसैगरि प्रदेश क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका राष्ट्रिय बहिरा महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका केदारप्रसाद अधिकारीले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले निकट मानिने अधिकारीले बाम गठबन्धनलाई नै समर्थन गर्ने गरि उम्मेद्वारी फिर्ता लिएका छन् ।