म्याग्दीमा यस्तो छ चुनावी प्रतिस्पर्धा, ७६ बर्षिय गौचनदेखि ३३ बर्षिय केसीसम्म मैदानमा !
- ७ कार्तिक २०७४, मंगलवार
- सन्तोष गौतम
- 3911 पटक पढिएको
म्याग्दी ७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेल गरेर उमेद्वारी दिएका छन् । प्रतिनिधिसभाका लागि एमाले माओवादीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रीक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा मुख्य प्रतिस्पर्धी हुन् ।
प्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता बिनोद केसी र प्रजातान्त्रीक गठबन्धनका राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचन चुनावी मैदानमा छन् । प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रीक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट उमेद्वारी दिएका एमालेका बैकल्पीक केन्द्रिय सदस्य थापा जिविसको पुर्व उपसभापती हुन् ।
प्रजातान्त्रीक गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली काँग्रेस म्याग्दीका सभापती गर्बुजा वि.स २०७० मा भएको दोस्रो संबिधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासंग तिन हजार ४४६ मतअन्तरले पराजीत भएका थिए ।बेनी नगरपालीका १ रत्नेचौरका थापा राष्ट्रिय राजनितिमा पुग्न सफल जिल्लाका सिमिति नेता मध्यमा पर्छन भने रघुगंगा गाउँपालीका ४ दग्नामका गर्बुजा बेलायती सैनीकबाट अवकास पाएपछि राजनितिमा सक्रिय छन् ।
गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उमेद्वारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा बाम गठबन्धन प्रजातान्त्रीक भन्दा सात हजार मतले अगाडी छ । स्थानीय तह निर्वाचनमा ७१ ह्जार ४६३ जना मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि चार हजार ७५ जना मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वारले १६ हजार ९८२, राप्रपाकाले ६६०, एमालेकाले १८ हजार ९३८ र माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वारले पाँच हजार ७०७ मत ल्याएका थिए ।
बेनी नगरपालीकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष र मालीका गाउँपालीकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलीयो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने आँकलन गरेको छ । रघुगंगा गाउँपालीका काँग्रेसको बलीयो आधार क्षेत्र मानिन्छ । मंगला गाउँपालीकामा एमाले संगठनात्मक हिसावले बलीया मानिन्छ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा काँग्रेससंग तालमेल गरेको माओवादीसंग यसपाली आफ्नो तालमेल र बलीयो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित बनाउन सकेमा म्याग्दीलाई लालकिल्ला बनाउन सकिने एमाले माओवादीका नेताहरुको भनाई छ । वि.स २०५६ यताको संसदीय चुनावमा पराजय ब्यहोर्दै आएको काँग्रेसले यसपाली जसरी पनी पुरानो बिरासत फर्काउने रणनीतीमा छ ।
राजनितिका हस्ती र युवाको प्रतिस्पर्धा :
पञ्चायतकालमा एक पटक सहायक र दुई पटक राज्यमन्त्री, पहिलो जिल्ला सभापती बनेका प्रजातन्त्रीक गठबन्धनबाट उमेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचन र बाम गठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका युवा नेता बिनोद केसीको उमेद्वारीले प्रदेशसभाको क्षेत्र नम्बर १ लाई धेरैले चासो दिएका छन् ।
म्याग्दीको राजनितिमा हस्ती र तत्कालीन अवस्थामा जिल्लाको विकासमा महत्वपूर्ण भुमिका खेलेका ७६ वर्षिय गौचन पञ्चायतकालमा चुनाव जित्न अपनाएको अनेक हत्कण्डाका कारण उत्तिकै बिवादीत पनी छन् । गौचन १९ वर्षको उमेरमा तत्कालीन पाखापानी गाविसको अध्यक्ष बनेका थिए । दश वर्षे जनयुद्धका क्रममा दाजु मदन केसीलाई गुमाएका ३३ वर्षिय बिनोद आन्दोलन र बलीदानबाट राजनितीमा होमीएका हुन् ।
जिल्ला खेलकुद विकास समितिको पुर्व अध्यक्ष रहेका केसी माओवादी केन्द्रको बेनी नगर कमिटि उपाध्यक्ष, सचिवालय सदस्य हुन् । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष केसी यातायात व्यवसायमा संलग्न छन् ।जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा म्याग्दीमा सुस्ताएको खेलकुदलाई क्रियाशिल बनाएको र यातायात सेवालाई मर्यादीत एवं व्यवस्थित बनाउन भुमिका खेलेकाले केसी युवा पुस्तामा बलीयो प्रभाव भएको व्यक्ती मानिन्छन् । बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेश सभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ जना मतदाता छन् । यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा बाम गठबन्धन प्रजातान्त्रीक भन्दा ७५९ मतले मात्र अगाडी रहेको बाम गठबन्धनलाई चुनाव जित्न सजिलो भने छैन् ।नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वारले ११ हजार ३८३, एमालेकाले १० हजार २९१, माओवादी केन्द्रकाले दुई हजार ५३९ र राप्रपाले ५८८ मत ल्याएका थिए । प्रजातान्त्रीक गठबन्धनका उमेद्वार गौचनलाई कमजोर संगठन, पार्टीमा आएको बिभाजन, काँग्रेसभित्रको असन्तुष्टि र बागी उमेद्वार चुनौतीका रुपमा रहेका छन् ।
गौचनका भाई राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले दाजुकै क्षेत्रमा बलबहादुर सुनार र राप्रपा राष्ट्रवादीले रामबहादुर शाहीलाई उमेद्वार बनाएका छन् । स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गरेर बेनपाको उपमेयरमा निर्वाचित राप्रपाकी सञ्जु बरुवालले असहयोग गरेकाले जिसस प्रमुख पद गुमाउनु परेकोमा काँग्रेस कार्यकर्ता राप्रपाप्रती आक्रोशित छन् ।आफ्नो बलीयो प्रभाव क्षेत्रमा तालमेलका क्रममा राप्रपालाई छाडेको भन्दै काँग्रेसका प्रभावशाली नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी (केवी)ले स्वतन्त्र उमेद्वारी दिएका छन् ।
महत र भण्डारीले उमेद्वारी फिर्ता नलिए गौचनलाई अप्ठ्यारो पर्ने देखिएको छ । तालमेलप्रती असन्तुष्टि जनाउँदै एमाले निकट केदारप्रसाद अधिकारीले पनी स्वतन्त्र उमेद्वारी दिएपनी उनी काँग्रेसका महत र भण्डारी जत्तिको राजनितिमा सक्रिय नरहेकाले खासै असर नगर्ने दावी एमाले माओवादीका नेताहरुको छ । माओवादी केन्द्रका उमेद्वार केसीका लागि संगठनात्मक हिसावले कमजोर राप्रपासंग प्रतिस्पर्धा गर्नुपर्दा अनुकुल हुने बताईन्छ ।
पूर्व राज्यमन्त्री र क्याप्टेनको प्रतिस्पर्धा
मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता छन् । बाम गठबन्धनको तर्फबाट उमेद्वार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पुर्व पशुपक्षि विकास राज्य मन्त्री हुन् । नेपाली काँग्रेसका उमेद्वार अमलाल फगामी भारतीय गोर्खा सैनीकको सेवा निवृत भएपछि राजनितिमा क्रियाशिल रहदै आएका छन् । शिक्षकको स्थाई जागीर छोडेर राजनितिमा होमीएकी कुहुँकी पुन र देविस्थानका फगामी दुवै मगर समुदायका हुन् ।
स्थानीय तहको निर्वाचनमा एमालेले मंगला र धौलागिरी गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष तथा मालीका गाउँपालीकाको उपाध्यक्ष जितेको थियो । काँग्रेसका युवा नेता श्रीप्रसाद रोका मालीका गाउँपालीकाको अध्यक्षमा बिजयी भएका थिए । स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धन छ हजार २४४ मतले अगाडी छ । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वारले पाँच हजार ५९९, एमालेकाले ८ हजार ६४७, माओवादीकाले तिन हजार २६८ र राप्रपाले ७२ मत ल्याएका थिए ।
राप्रपाले प्रदेश सभाको क्षेत्र नम्बर २ मा काँग्रेसका उमेद्वार फगामीलाई सघाएको छ भने माओवादीले एमालेकी उमेद्वार पुनलाई । लामो समयदेखि स्थानीय स्तरको विकास निर्माणमा सक्रिय व्यक्तिलाई उमेद्वार बनाएको, विगतकका तुलनामा संगठनमा सुधार आएकाले जित्ने काँग्रेसको दावी छ । तालमेल र पार्टी एकिकरण गर्ने घोषणाले कारण एमाले, माओवादीका स्थानीय नेता कार्यकर्तामा उत्साह छाएको तथा पहिलेदेखिनै बलीयो संगठन भएको र महिला नेतालाई अघि सारेकाले चुनावी परिणाम आफ्नो पक्षमा पर्ने बाम गठबन्धनको दावी छ ।