बाम गठबन्धन संयुक्त कार्यकर्ता प्रशिक्षणको तयारीमा
- ७ कार्तिक २०७४, मंगलवार
- 2007 पटक पढिएको
म्याग्दी, ७ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले चुनाव प्रचार अभियानसंगै संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनी सञ्चालन गर्ने भएका छन् । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि साझा उमेद्वार तय गरेका दुवै पार्टीले संयुक्त रुपमा चुनाव प्रचार र तालमेललाई प्रभावकारी बनाउन कार्यकर्ता प्रशिक्षण चलाउने निर्णय गरेका हुन् ।
बुधबार बेनीमा दुवै पार्टीको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण र चियापान कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रका नेता चन्द्रबहादुर घिमीरेले बताउनुभयो । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसंगै पार्टी एकीकरणको समेत सहमती भएकाले गाउँ तहका कार्यकर्ताहरुमा भावनात्मक एकता र सहकार्यको वातावरण बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको एमाले माओवादीका नेताहरुले बताएका छन् ।
९ गते बिहीबार बेनी नगरपालीका र पाँच वटै गाउँपालीकामा संयुक्त कार्यकर्ता प्रशिक्षण गरेपछि दश गतेदेखि दुई वटा संयुक्त टोलीले प्रदेशसभाको २ वटै क्षेत्रमा चुनाव प्रचार अभियान सञ्चालन गर्ने कार्यतालीका बनाएका छन् । चुनाव प्रचार अभियानलाई व्यवस्थित, प्रभावकारी र समन्वयका लागि दुवै पार्टीका नेताहरु सम्मिलीत ७ सदस्यीय कार्यदल गठन भएको छ ।
बाम गठबन्धनले प्रतिनिधिसभामा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा, प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादीका बिनोद केसी र प्रदेशसभाको क्षेत्र नम्बर २ मा एमालेकी नरदेवी पुनलाई साझा उमेद्वार बनाएका छन् ।