सिट नपाए उम्मेदवारी फिर्ता हुन्नः राप्रपा(प्रजातान्त्रिक)

  • ७ कार्तिक २०७४, मंगलवार
  • 2975 पटक पढिएको

म्याग्दी, ६ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गरेको राप्रपा (प्रजातान्त्रिक) म्याग्दीले सिट बाँडफाँट गरि तालमेल नभए पार्टीको तर्फबाट दर्ता भएको उम्मेद्वारी फिर्ता नहुने जनाएको छ । राप्रपा प्रजातान्त्रिकले सोमबार बेनीमा पत्रकार सम्मेलन गरि पार्टीको तर्फबाट आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दर्ता भएको उम्मेद्वारी सम्बन्धमा जानकारी गराएको हो ।

पार्टीका केन्द्रिय सदस्य जगत प्रसाद गौचनले आफुहरु बृहत प्रजातान्त्रिक गठबन्धनको पक्षमा रहेको बताउँदै सिट बाँडफाँट सहित तालमेल भएमात्रै पार्टीको तर्फबाट दर्ता भएको उम्मेद्वारी हेरफेर गर्न सक्ने बताउनुभयो । काँग्रेससंग केन्द्रमा कम्तीमा प्रदेश सभाको एउटा निर्वाचन क्षेत्र उपलब्ध गराउने गरि तालमेलको प्रयास भएपनि त्यो सम्भव नभएपछि एकलौटी रुपमै पार्टीले उम्मेद्वारी दर्ता गराएको उहाँको भनाई छ ।

नेपाललाई हिन्दु राष्ट्र कायम र राजा पुर्नस्थापनाको एजेण्डा लिएर चुनाबमा जाने बताउँदै गौचनले पार्टीलाई राष्ट्रिय पार्टीको स्थापीत गर्नु आफुहरुको अहिलेको मुख्य उदेश्य रहेको बताउनुभयो । राप्रपा प्रजातान्त्रिक म्याग्दीले प्रतिनिधि सभामा रुपनारायण श्रेष्ठ, प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा बलबहादुर सुनार र निर्वाचन क्षेत्र नम्बर २ मा तीलाराम नेपालीलाई उम्मेदवार बनाउने गरि मनोनयन दर्ता गरेको छ । राप्रपा प्रजातान्त्रिकले तोप बहादुर केसीको संयोजकत्वमा प्रचार प्रसार समिति समेत गठन गरेको जनाएको छ ।