वैदेशिक रोजगारि त्यागेर भण्डारीद्धयले गरे पर्यटकीय रुईसेमा कृषि फर्म सञ्चालन
- ३१ आश्विन २०७४, मंगलवार
- कमल खत्री
- 7472 पटक पढिएको
म्याग्दी, ३१ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका दुई युवाले वैदेशिक रोजगारिलाई त्यागेर गाउँमै कृषि फर्म स्थापना गरेका छन् । ३० बर्षका नीरबहादुर भण्डारी र २८ बर्षका प्रकाश भण्डारीले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरेका हुन् । व्यवसायिक पशुपालन र कृषिबाट स्वदेशमै स्वरोजगार बन्ने उदेश्य बोकेर कृषि पेशामा लागेका युवा उद्यमी भण्डारीद्धयले बाख्रापालन, कुखुरापालन र हाँसपालन गरेका छन् ।
४० वटा बाख्रा, २०० वटा कुखुरा, ५० वटा हाँसबाट पशुपालन थालेका उनीहरुले फर्मको क्षमता विस्तारको लागि पूर्वाधार निर्माण गरिरहेका छन् । गत बैशाखदेखि व्यवसायिक पशुपालन गर्ने गरि २०० क्षमताको बाख्राको खोर, ७ सय क्षमताको कुखुराको खोर र १०० क्षमताको हाँसको खोर निर्माण गरिएको उद्यमी नीरबहादुर भण्डारीले बताउनुभयो । उहाँले आवासगृह ,खोर निर्माण ,कुखुरा, बाख्रा र हाँसका चल्ला खरिद लगायतमा १३ लाख ५० हजार बढी लगानी भईसकेको जानकारी दिनुभयो ।
बार्षिक २२ हजार रुपैयाँ दिने गरि जग्गा भाडामा लिएर पशुपालन थालीएको र पर्यटकीय क्षेत्र भएकाले भम्रणमा आउने पर्यटकहरुलाई होमस्टेको समेत व्यवस्था गरिएको अर्का उद्यमी प्रकाश भण्डारीले बताउनुभयो । उहाँका अनुसार, आवासगृहमा दैनिक १० देखि १२ जनासम्मलाई राख्न सकिने क्षमता रहेको छ । सो होमस्टेमा स्थानीय उत्पादनका परिकारहरुको स्वाद पर्यटकहरुलाई चखाउने गरिएको छ ।
नीरबहादुर दुबै, कतार, सिंगापुर लगायका देशमा १२ बर्ष विदेश बसेर स्वदेशमै व्यवसायिक कृषि र पशुपालनमा लागेका हुन् भने अर्का उद्यमी प्रकाश साउदी, कतार मलेसिया लगायतका ठाउँमा ११ बर्षसम्म विदेश बसेर फर्किएका हुन् । उनीहरुले पशुपालनसंगै रुईसे क्षेत्रमा आलु, सागसब्जी लगायतको व्यवसायिक खेती समेत सुरु गर्ने तयारी गरिरहेका छन् ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l