उद्योग बाणिज्य संघ दरबाङ इकाइको अध्यक्षमा सिउँथानी
- ३० आश्विन २०७४, सोमबार
- 3727 पटक पढिएको
म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ बजार इकाई समितिको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले गोविन सिउँथानीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पर्वद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिबार दरबाङमा सम्पन्न अधिवेशनले सिउँथानीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको निवर्तमान अध्यक्षमा मोतिराज उपाध्याय, उपसभापतिमा लेकबहादुर पुन, सचिवमा थमन गौतम, कोषाध्यक्षमा खड्ग छन्त्याल र सहसचिवमा अमृत सापकोटा रहेका छन् । यसैगरी सदस्यहरुमा रामबहादुर अधिकारी, प्रेमबहादुर विश्वकर्मा, लक्ष्मी चपाईं शर्मा, वेदीराम उपाध्याय, राम रिजाल, विरेन्द्र पुन र गोपाल गौतम रहेका छन् ।
त्यस्तै मनोनित सदस्यमा मोहन उपाध्याय, सहबहादुर परियार र महिला उद्यमी ताराकुमारी विश्वकर्मा रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचनसँगै देश सङ्घीयतामा प्रवेश गरेको हुँदा स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेशनम्बर ४ का सदस्य कुविरकुमार श्रेष्ठले देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेकोमा जोड दिएका छन् । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, प्रथम उपाध्यक्ष बेलबहादुर कटुवाल, द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठ र दरबाङ इकाइका संस्थापक अध्यक्ष विरबहादुर कार्कीले परिवर्तित सन्दर्भमा निजी क्षेत्रको भूमिकाको बारेमा बोलेका थिए ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ दरबाङ इकाइका निवर्तमान अध्यक्ष मोतिराज उपाध्यायको अध्यक्षता, लेकबहादुर पुनको सञ्चालन र खड्ग छन्त्यालको स्वागतमा सम्पन्न भएको थियो ।