विश्वामित्रको लगानी सात करोड
- ३० आश्विन २०७४, सोमबार
- 1657 पटक पढिएको
विश्वामित्र बचत तथा ऋण सहकारी संस्था बेनीको लगानी साढे सात करोड रुपैयाँ पुगेको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाको अवसरमा उक्त जानकारी गराईएको हो । कुल २९८ जना शेयर सदस्य रहेको सहकारीले दुई करोड १८ लाख ३८ हजार ६०० शेयर पुँजी, सात करोड ५९ लाख एकहजार ९५१ गानी लगानी पुर्याएको जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी सबैको साझा चौतारी भएको बताएका छन् । उनले सहकारी लोकप्रिय संस्थाको रुपमा अगाडि बढिरहेको बताउँदै सहकारीलाई समाज रुपान्तरण र परिवर्तनको अभिन्न अङ्गका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिए ।
बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले सहकारीमार्फत सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै सहकारी संघसंस्थाले शेयर सदस्यहरुसँग मात्रै आर्थिक कारोबार गर्नुपर्ने बताइन् । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी केसी, मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शेरबहादुर केसी र युनिक बचत तथा ऋण सहकारीका अध्यक्ष गोविन्द बानियाँले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावबाट जिल्ला समन्वय समितिको सदस्य निर्वा्चित संस्थाका शेयर सदस्य शेरबहादुर केसी लगायतलाई सम्मानपत्रसहित सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट कारोबारतर्फ सितल थापा, हिराबहादुर बरुवाल, तुलसीदेवी केसी, कल्पना सुवेदी र सिता थापालाई पनि सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष कृष्णबहादुर बानियाँको अध्यक्षता र सचिव भोजबहादुर रिजालको सञ्चालनमा सम्पन्न सहकारीको उद्घाटनसत्रमा कोषाध्यक्ष यामबहादुर बानियाँले मन्तव्य राखेका थिए ।