बेनीमा स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण
- २७ आश्विन २०७४, शुक्रबार
- 2047 पटक पढिएको
म्याग्दी २७ असोज । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दी, कदम म्याग्दी र स्वास्थ्य सेवा स्रोत केन्द्र काठमाडौको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य अधिकारको अबस्था, यसले समेटिएको क्षेत्र र म्याग्दीमा सार्वजनिक स्वास्थ्य सेवाको अबस्थाबारे सहजीकरण तथा छलफल गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मानव अधिकार तथा स्वास्थ्य अधिकारको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले देशका विभिन्न ५८ जिल्लामा विस्तार भएका सञ्जालहरुको सहयोगमा स्वास्थ्य अधिकार सम्बन्धि घटनाहरु अभिलेखिकरण तथा जनचेतनाको लागि स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशनको तयारीमा रहेको समेत जानकारी दिनुभयो । देशभरका स्वास्थ्य अधिकार हनन्का घटनाको अभिलेखीकरण गरी प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र काठमाडौले बार्षिक रुपमा प्रकाशन गर्ने गरि पुस्तक प्रकाशन गर्न लागेको र म्याग्दीमा समेत सो पुस्तकको लागि व्यक्तिगत घटना अध्ययन मार्फत विवरण संकलन गरिने जनाईएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक भिम आचार्यले एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीका कुल जनसंख्याको ८७ प्रतिशतमा स्वास्थ्य सेवाको पहुँच पुगेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय बिलासी जिवनशैली, अस्वस्थ्यकर खानाका कारण नसर्ने रोगका बिरामी बढेको बताउनुभयो । गत वर्ष मुटु, मृगौला, क्यान्सर लगायत जटिल किसीमका स्वास्थ्य समस्या भएका ९६ जनालाई उपचार छुटका लागि सिफारीस गरिएको थियो । सुरक्षित प्रसुती सेवामा पहुँच बढ्दै गएको देखिएको छ । बेनी अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र सहित २४ स्वास्थ्य संस्थामा वर्थीङ सेन्टर सञ्चालन भएको आचार्यले जानकारी दिनुभयो । जिल्ला स्थित सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मुक्ति ढुंगानाले गर्नुभएको थियो ।