जनता आवास कार्यक्रम अन्तरगत म्याग्दीमा यस वर्ष थप एक सय घर बन्ने ।
गत साउन भदौमा पहिरोबाट घरबार बिहीन भएकालाई पनी अनुदान दिइने ।।
- २७ आश्विन २०७४, शुक्रबार
- सन्तोष गौतम
- 2151 पटक पढिएको
बेनी, २७ असोज । आर्थिक रुपमा विपन्न र गरिबीको रेखामुनी रहेका दलित समुदायको भौतिक अवस्थामा सुधार, स्वस्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन म्याग्दीमा सञ्चालीत जनता आवास कार्यक्रमलाई यस वर्ष पनी निरन्तरता दिइने भएको छ ।
सहरी आवास तथा निर्माण डिभिजन कार्यालय बागलुङ मार्फत गत वर्षदेखि सुरु भएको कार्यक्रम यस वर्ष मंगला गाउँपालीकाको ३ र ४ बरंजा, १ कुहुँ, ५ अर्मन, बेनपा २ ज्यामरुककोट, मालीका गाउँपालीका ५ देविस्थान र ६ दरवाङमा विस्तार भएको हो ।
गत आर्थिक वर्ष सुरु भएको कार्यक्रम अन्तरगत बेनी नगरपालीकाको पुलाचौर, घतान, सिंगा, अर्थुङ्गे, भकिम्ली, अन्नपूर्ण गाउँपालीकाको दाना, घार, धौलागिरी गाउँपालीकाको लुलाङ, ताकम, मालीका गाउँपालीकाको ओखरबोट, रुम, रघुगंगा गाउँपालीकाको पिप्ले र भगवतीमा ८२ वटा घर निर्माणाधिन अवस्थामा छन् ।
कार्यक्रममा छनौट भएका १८ घरपरिवारसंग सम्झौता गर्न बाँकी छ । गत वर्ष कार्यक्रम सञ्चालन भएका साविकका गाविसमा पचास र नयाँ थपिएका साविकका छ गाविसमा पचास वटा घर निर्माण गरीने सांसद रेशमबहादुर बानियाले जानकारी दिनुभयो ।
सरकारले सांसद बानियाको संयोजकत्वमा अर्का सांसद नवराज शर्माको समेत सहभागीतामा जिल्ला स्थित सरोकारवालाई समेटेर गठन गरेको जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको शुक्रबार जिविसमा बसेको बैठकले कार्यक्रम सञ्चालन हुने स्थान तय गरेको हो ।
कार्यक्रम मार्फत सरकारले तोकेको मापदण्ड अनुसार एउटा घर बनाउन चार किस्तामा लाभग्राहीलाई चार किस्तामा तिन लाख पचास हजार रुपैया उपलब्ध गराईने डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले जानकारी दिनुभयो । गत वर्ष दुई लाख ३४ हजार रुपैया अनुदान उपलब्ध गराउने सम्झौता भएपनी यस वर्ष अनुदान रकम थप एको छ ।
समन्वय समितिको निर्णय अनुसार कार्यक्रम लागु हुने वडाका विपन्नको पहिचानका लागि घरधुरी सर्वेक्षणको काम सुरु गरिने भएको छ । अनुदान पाउने लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आफले बनाउनुपर्ने व्यवस्था छ । यसैबीच गत साउन भदौमा बाढी पहिरोबाट घरबार बिहीन भएकाहरुलाई सरकारले घर पुननिर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ ।
विपद् जोखिम न्युनीकरणका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रबार प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रजिअ कृष्णप्रसाद अधिकारीले राष्ट्रिय पुननिर्माण प्राधिकरणले यही वर्षको साउन भदौमा बाढी पहिरोका कारण घर क्षत्ती भएकाहरुलाई अनुदान उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा सांसद नवराज शर्मा र रेशमबहादुर बानियाले विपद्को क्षत्ती न्युनीकरणका लागि पूर्वसर्तकता र व्यवस्थापनको तयारीमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले गर्नुभएको थियो । सहभागीहरुले विपद्को क्षत्तीबाट बच्न सुरक्षित आवास निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।