रघुगंगा गाउँपालिका–४ दग्नामलाई साक्षर वडा घोषणा

  • ४ आश्विन २०७४, बुधबार
  • 3101 पटक पढिएको

म्याग्दी, ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामलाई साक्षर वडा घोषणा गरिएको छ । वडामा रहेका १५ देखि ५९ बर्ष उमेर समुहका ९५ दशमलब ५५ प्रतिशत जनसंख्या साक्षर बनेपछि एक कार्यक्रमका बिच वडालाई साक्षर वडा घोषणा गरिएको हो ।

जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा दग्नामलाई साक्षर वडा घोषणा गर्दै गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले शिक्षाले समाजको आमुल परिवर्तन गराउने भन्दै साक्षर वडा घोषणाले दग्नामको चौतर्फि विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले साक्षर वडा घोषणालाई व्यवहारमा उतार्दै यसलाई निरन्त रुपमा कार्यान्वयन गर्न सकेमा मात्रै घोषणाले सार्थकता पाउने बताउँदै शिक्षाको लागि गाउँपालिकाले समेत प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपप्रमखु कमला तिलिजा,स्रोत व्यक्ति दुतबहादुर गर्वुजा, सब–ईन्जीनियर राजकुमार शाही, शिव आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा, वडा अध्यक्ष एकबहादुर गर्वुजा, आमा समुहका अध्यक्ष मैना पुन, लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक खड्क गर्वुजाले स्वागत मन्तव्य, शिक्षीकाहरुले स्वागत गित तथा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रअ गुनबहादुर पुनले गर्नुभएको थियो ।

हरेक वडा, गाउँपालिका तथा नगरपालिकामा १५ देखि ५९ बर्षउमेर सम्मका कुल नागरिक मध्ये ९५ प्रतिशत साक्षर भएमा साक्षर वडा, गाउँपालिका तथा नगरपालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।