पुख्र्यौली नाचमा मुना पुख्र्यौली समूह बिजयी (फोटो फिचर)

  • ५ जेष्ठ २०८२, आईतवार
  • 177 पटक पढिएको

म्याग्दी, ४ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल भएका छन् । त्यसैगरि काफलडाँडा पुख्र्यौली समूह र राधाकृष्ण नाच प्रदर्शन गरेको ताकम धार्मिक नाट्य समूह सान्त्वना हुन सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल समूहलाई क्रमश नगद रु २५ हजार, २० हजार, १५ हजार र सात हजार सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । गाउँपालिकाले सोही अवसरमा गत माघ महिनामा बेनीमा सम्पन्न आठौँ म्याग्दी महोत्सवमा आयोजित जिल्लास्तरीय पुख्र्यौली नाच प्रतियोगितामा बिजेता बनेको मुना पुख्र्यौली समूहलाई नगद रु ३५ हजार सहित सम्मान गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल, वडा नम्बर ३ का अध्यक्ष देबिन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले पालिकाभित्र रहेका मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा मगर समुदायको पुख्र्यौली नाचका ताकमको मौलिक संस्कृति राधाकृष्ण नाच अवलोकनका लागि सर्वसाधारणको भिड लागेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुन र प्रमुख प्रशासकीय अधिकृत अर्यालले धवलागिरी गाउँपालिका कला, संस्कृतिमा धनी रहेको र मौलिक संस्कृतिहरु हराएर जाने अवस्था आउन नदिन संस्कृतिलाई अन्तरपुस्ता हस्तान्तरणको लागि कार्यक्रमले सहयोग पुगेकोमा जोड दिनुभयो ।
कार्यक्रममा निर्णायक मण्डलका संयोजक डिके पुन र वडा नम्बर ३ का अध्यक्ष रोकाले गाउँपालिकामा रहेको साँस्कृतिक विविधतालाई प्रतियोगिताले उजागर गरेकोमा जोड दिनुभयो । गाउँपालिकाले प्रतियोगितामा सहभागी हुने मुना बाहेकका समूहलाई यातायात खर्चको समेत व्यवस्था गरेको थियो । उक्त कार्यक्रमको संचालन गाउँपालिकाका सहायक महिला विकास अधिकृत पुष्पा दवाडीले गर्नुभएको थियो ।