चिमखाेलाकाे लेकाली बुकीमै बसेर यार्सागुम्बाको खोजी (फाेटाे कथा)

  • १४ जेष्ठ २०८१, सोमबार
  • कमल खत्री
  • 687 पटक पढिएको

म्याग्दी , १४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाईजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाईजा सहित उहाँका साथिहरुले बहुमुल्य जडिबुटिको रुपमा अन्र्तराष्ट्रिय बजार सम्म पुग्ने यार्सागुम्बा संकलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकी देखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेहरुको चहलपहल बढेकाे छ ।
चिमखोलाका करिब ५० जना अहिले यार्सा संकलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताउनुभयो । ‘‘करिब दुई महिना सम्म हामी बुकीमै बसेर यार्सा संकलन गर्छौ, बिगतको तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटा सम्म मात्रै हामीले यार्सा संकलन गरिरहेका छौँ’’–पाईजाले भन्नुभयो । यसअघिका बर्षमा दिनमा २०० वटा सम्म यार्सा संकलन गरेको बताउँदै उहाँले यस बर्ष यार्साको उत्पादन कम भएको जानकारी दिनुभयो ।
यार्सा संकलन गर्नेहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । एक महिनायता लेकाली क्षेत्रमा यार्सा संकलन गर्नेहरुको चहलपहल बढेको छ । संकलन भएको यार्सा स्थानीय स्तरमा २०० देखि २५० रुपैयाँसम्ममा विक्रि हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गर्नुभएका गमान गर्बुजाले बताउनुभयो ।
यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि बर्ष अघि बार्षिक २० किलो बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला बर्षहरुमा न्यून मात्रामा यार्सा निकासी हुने गरेको छ । चालु आर्थिक बर्षमा आधा किलो यार्सागुम्बा संकलनको लागी मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनय बहादुर अधिकारी खत्रीले जानकारी दिनुभयो ।
यार्सागुम्बा संकलन र निकासीका लागि राजश्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सगुम्बा विक्रि र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताहरुले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमंगले, मल्कबाङ, मुदी, गुर्जा लगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा संकलनमा व्यस्त बनेका छन् ।
बिषेश गरी बैशाखको मध्यदेखि जेठ महिनाको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब १५० जना यार्सा संकलनका लागी गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यार्सा संकलन हिमाली क्षेत्रका बासीन्दाको लागि रोजगारि र आयआर्जनको माध्ययम बनेको बताउनुभयो ।
यार्सा टिप्न जाने बुकीहरुमा पर्ने देउरालीमा देविदेवताको पुजापाठ गरी स्थानीयले यार्सा संकलन गर्ने गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताको लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले संकलन गरेको यार्साले उचित मुल्य नपाउँदा यार्सा संकलनकर्ताहरु निरास बन्न थालेका छन् ।
म्याग्दीमा स्थानीय स्तरमा हिमाली भेगमा पुगेर यार्सा संकलन गरेका सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो ५ देखि ६ लाखसम्ममा खरिद गर्ने गरेका छन भने हालको बजार मुल्य ८ देखि १० लाख रहेको बताइन्छ । केहि बर्ष अघिसम्म बजारमा १५ लाख सम्ममा पनि यार्सा खरिदविक्रि हुने गथ्र्यो । राजश्वमा आएको शुल्क बृद्धि र प्रकृयागत झण्झटका कारण कतिपयले अवैधबाटो बाट समेत यार्सागुम्बा खरिद विक्रि गर्दै आएका छन् । रासस         

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l