जिसस प्रमुखमा निर्विरोध निर्वाचित केसी को हुन् !

  • २० श्रावण २०७४, शुक्रबार
  • कमल खत्री
  • 6745 पटक पढिएको

म्याग्दी, २० साउन । जिल्ला समन्वय समिति म्याग्दीले परिपक्क नेतृत्व पाएको छ । मंगलवार मनोनयन दर्ताको समयसिमा भित्र एकल उम्मेदवारी परेपछि एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध जिसस प्रमुखमा चुनिएका हुन् ।


साविक भगवती–४ कटुवाल टोल निवासी रहेका केसी गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका–२ भगवतीबाट वडा सदस्यमा लोकप्रिय मत ल्याएर विजयी भएका थिए । जिससमा ल्याउनकै लागि केसीलाई पार्टीले वडा सदस्यमा उठाएको थियो । जिल्ला समन्वय समितिको प्रमुखमा चुनिएका ५३ बर्षका केसी परिपक्क र ईमानदार छवि बनाएको नेताको रुपमा चिनिन्छन् । आमा लक्ष्मि कुमारी कटुवाल र बुबा स्वर्गिय खिमबहादुर कटुवालको जेठो छोराको रुपमा जन्म लिएका केसीले मुक्तिधाम माविबाट एसएसी र पोखराको पृथ्विनारायण क्याम्पसबाट व्यवस्थापन संकायबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् । केसी विद्यार्थी उमेरदेखि नै राजनीतिमा होमिएका थिए ।

२०३६ सालमा कक्षा १० मा पढ्दै गर्दा पञ्चायत र बहुदलको लागि भएको निर्वाचनमा बहुदलको पक्षमा प्रचार–प्रसारमा जुटेपनि २०३८ सालमा पृथ्विनारायण क्याम्पसमा स्नातक तहमा भर्ना भएपछि उनले त्यहाँ अनेरास्ववियू पाँचौँको सहायक प्रारम्भीक कमिटीको सदस्यता लिएर औपचारीक रुपमा विद्यार्थी राजनैतिक यात्रा सुरु गरेका थिए । त्यसपछि उनले त्यहाँ अनेरास्ववियू पाँचौको प्रारम्भिक कमिटीमा बसेर काम गरेका थिए । २०४६ सालमा पढाई सकेर गृहजिल्ला फर्किएका केसीले एक बर्ष करारमा कोलेनिका म्याग्दीमा लेखापालको रुपमा काम गरका थिए ।

जिवनको महत्वपूर्ण समय केसीले शिक्षण पेशामा पनि बेतिथ गरेका छन् । एसएलसी दिएकै बर्ष तत्कालिन कृष्ण प्रावि बाँदुकमा एक बर्ष शिक्षण गरेका केसीले २०४२ देखि ४४ सम्म मुक्तिधाम माविमा शिक्षण गरेका थिए भने त्यसपछि आदर्श मावि रिममा ७ बर्ष प्रअ भएर शिक्षण पेशा अंगालेका थिए । यस बिचमा केसीले एमालेको तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठन र शिक्षक संगठनमा आबद्ध भएर राजनीतिक यात्रालाई निरन्तरता दिएका थिए । युवा संगठनमा जिल्ला सम्मेलन आयोजक कमिटीमा बसेर काम गरेका केसी २०५१ देखि २०५४ सम्म दुई कार्यकाल संगठनको जिल्ला अध्यक्ष भएर समेत काम गरे । उनी आदर्श मावि रिमको प्रअबाट राजीनामा दिएपछि २०५४ देखि पूर्णकालिन राजनीतिमा लागेका हुन् ।


एमालेको तत्कालिन गाउँ कमिटि र ईलाका कमिटीको सचिब रहेका केसी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक भगवती गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । ३३ बर्षको उमेदरमा गाविस अध्यक्ष पदमा निर्वाचित भएपछि पाँच बर्षे कार्यकालमा गाविसको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा भौतिक सूधार गरेका केसीले तत्कालिन गाविस महासंघको जिल्ला सचिब पदमा रहेर समेत काम गरे । त्यो क्रममा पिप्ले र बेखगोलासंग विभिन्न विकास निर्माण योजनाहरुमा सहकार्य गरेका केसीले सामाजिक सुरक्षा भक्ता बस्ती बस्तीमा लगेर वितरण गर्ने परिपार्टीको सुरुवात गरेका थिए ।

स्वास्थ्य र सरसफाई अन्र्तगत साविक भगवती गाविसले केसीकै परिकल्पना अनुसार २०५५ सालको गाउँ परिषदबाट एक घर एक चर्पि बनाउने गरि गाउँपरिषदबाट प्रस्ताब पारिद गरेको थियो । उनी भन्छन–‘ हामीले त्यतिबेला नै खुलादिसा पिसाब गर्ने कार्यलाई नियन्त्रण गर्ने योजना बनाएका थियौँ, त्यो निर्णयमा जनप्रतिनिधिले अनिवार्य रुपमा सौचालय बनाउनुपर्ने उल्लेख थियो’’ । त्यो निर्णयले गाउँमा सौचालय बनाउने अभियान चलेको र बाटोघाटो समेत सरसफाई गर्न सहयोग गरेको केसी बताउँछन् ।
विद्यार्थी र युवा संगठन हुँदै २०५७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका केसी त्यसपछि सचिबालय सदस्य हुँदै अहिले दोस्रो कार्यकालको उपाध्यक्ष पदमा रहेर काम गरीरहेका छन् । राजनीति मार्फत समाजसेवा र समाज रुपान्तरण गर्न सकिन्छ भन्ने अठोट लिएर शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका केसीले २०४६ साल र २०६२÷०६३ सालको जनआन्दोलनमा पनि सक्रिय भएर होमिएका थिए । २०६४ र २०७० सालका संविधान सभा निर्वाचनमा पार्टीको तर्फबाट सभासद पदमा आकाँक्षी बनेपनि केसी पार्टीको निर्णय र निर्देशनलाई आत्मसाथ गरि पार्टीका कार्यहरुमा सक्रिय रहँदै आएका छन् ।

‘‘ राजनीतिक जिबनमा धेरै अबसर र चुनौतिहरु पनि आए, कतिपय अबसरहरु पार्टीका निर्देशनलाई मानेर छाडियो, अहिले जिल्ला समन्वय समितिको नेतृत्वदायि प्रमुख पदमा पुगेको छु, यस जिम्मेवारीलाई अबसरको रुपमा लिएर बहन गर्ने संकल्प गरेको छु,’’–केसीले भने ।
जिल्लाका स्थानीय तहहरु बिच आपसी सम्बन्ध स्थापित गर्दै जिल्ला समन्वय समितिको अधिकार क्षेत्रभित्र रहेर जिल्लालाई के योगदान गर्न सकिन्छ त्यो नै आफ्नो प्रमुख कार्यभार रहेको केसी बताउँछन् ।

बास्तवमा पर्यटन, जलविद्युत, व्यवसायिक कृषि र पशुपालन, जडिबुटीको व्यवसायिकहरुण लगायत बन तथा बातावरण संरक्षण, रोजगारि सृजना , दिर्घकालिन भौतिक विकास नै जिल्लाको प्राथमिकता रहेको उनको भनाई छ । उनले पदभार ग्रहण लगत्तै बृद्धिजिवि तथा सरोकारवालासंग आबश्यक परामर्श गरि जिससको अधिकार क्षेत्रभित्र रहेर आबश्यक योजना निर्माण गरि अगाडी बढ्ने योजना बुनेका छन् । केसीले आफ्नो जिम्मेवारी समन्वयकारी हुने भएकाले जिल्लाका स्थानीय तहहरु र जिल्ला र जिल्लामा रहेका स्थानीय तहलाई प्रदेश र केन्द्रसंग समन्वयको लागि प्रभावकारी पुलको रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केसी राजनीति संगै विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय छन् ।
बेनी स्थित निलगिरी बचत तथा ऋण सहकारीको अध्यक्ष रहेका केसी स्थानीय शान्ति समितिमा संयोजक तथा सदस्य रहेर समेत काम गरेका थिए। उनी चिमखोला राखु खानेपानी उपभोक्ता समितिको सदस्य, धौलागिरी आईसफल पदमार्ग व्यवस्थापन समितिको सल्लाहार , रुईसे–भेडिओढार पर्यटन विकास समितिको अध्यक्ष समेत हुन् । मुक्तिधाम माविको एक कार्यकाल अध्यक्ष र सदस्य पदमा रहेर जिम्मेवारी बहन गरेका केसी रेडक्रस भगवती उपशाखाको सदस्य, सामुदायिक बनको अध्यक्ष , गलेश्वर– पिप्ले– भगवती, बेगखोला सम्मको सडकको एक वर्ष सदस्य र एक बर्ष अध्यक्ष पदमा रहेर काम गरेका थिए भने उनी तत्कालिन भूमिसुधार मन्त्रालय अन्र्तगत गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा पार्टीको सिफारिसमा जिल्ला अध्यक्ष समेत बनेका थिए । परिस्थिति र समय अनुसार ईमान्दारी पूर्वक जनताको सेवा गर्दै जाँदा अबसर र जिम्मेवारी प्राप्त हुने भन्दै राजनीतिलाई नाफाघाटा भन्दा पनि सेवाको हिसाबले सिरोपरी गर्ने केसीको भनाई छ ।
प्रस्तुती कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l