जब कृषकले गाउँपालिका परिसरमै सुन्तलाका विरुवा राखेर विरोध गरे……

  • १० श्रावण २०७९, मंगलवार
  • 1293 पटक पढिएको

बेनी, १० साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका युवा कृषक बालकृष्ण कटुवाल यस क्षेत्रमा व्यावसायिक सुन्तला खेतीको सुरुवात गर्ने युवा कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले सुन्तलाको खेती संगै सुन्तलाका विरुवा उत्पादनका लागि ‘भगवती सुन्तला कृषि फर्म’ स्थापना गर्नुभएको छ । कटुवालको फर्ममा करिब ४५ हजार सुन्तलाका विरुवा उत्पादन भएका छन् । तर स्थानीय रघुगंगा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा वितरण गर्ने सुन्तलाका विरुवा बाहिरबाट आयात गरेपछि कृषक समेत रहनुभएका कटुवालले आफ्नो फर्मबाट करिब १८ हजार विरुवा गाउँपालिका परिसरमा राखेर विरोध जनाउँनुभएको छ । आफ्नो फर्मका विरुवा ट्याक्टरमा राखेर गाउँपालिकालाई निशुल्क बुझाउने भन्दै कटुवालले विरोध स्वरुप गाउँपालिका कार्यालय परिसरमा थुपारिदिनुभएको छ ।


‘‘लगातार दुई बर्षदेखि सरकारी दररेटमा विरुवा खरिद गरिदिन मौखिक रुपमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई निवेदन गर्दै आएँ, तर न्यूनतम दररेटका नाममा बाहिरबाट विरुवा वितरण गरेपछि नर्सरीका विरुवा गाउँपालिकालाई बुझाएर कृषि पेशाबाट बाहिरिने निधो गरेको हुँ’’–उहाँले भन्नुभयो ।
स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता नदिएको र बाहिरबाट आयात गरेका विरुवा गुणस्तरीय नभएको भन्दै उहाँले छनौट भएको फर्मको अवलोकन समेत नभएको र उक्त फर्मले बाहिरी जिल्ला सल्यानबाट विरुवा आयात गरेको आरोप समेत लगाउनुभएको छ । ‘‘हाम्रो अभिभावक स्थानीय सरकार होइन ? ठेक्का पट्टामा जसरी विरुवा खरिदमा समेत सेटिङ गरेर स्थानीय गाउँमै उत्पादन भएका विरुवालाई वेवास्ता गर्नुले हामी कृषकहरु पेशाबाटै पलायन हुनुपर्ने बाध्यता सिर्जना गर्नु स्थानीय सरकारको जिम्मेवारी यहि हो ? कटुवालले प्रश्न गर्नुभएको छ ।

गाउँपालिका मार्फत असारमा वितरण भएका अधिकाँश सुन्तला र कागतीका विरुवा मरेको र गाउँपालिकाले विरुवा खरिद गर्दा एक पटक पनि सम्बन्धीत फर्मको नर्सरी अनुगमन नगरेको कारण स्थानीय कृषकलाई उपेक्षा गर्नकै लागि बाहिरबाट विरुवा ल्याइएको कटुवालको भनाई छ । कटुवालले व्यक्तिगत रुपमा ५ सय र उहाँकै नेतृत्वमा सामुहिक रुपमा १ हजार ३ सय बोट सुन्तलाको खेती समेत गर्नुभएको छ । यता गाउँपालिकाले भने सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेर सार्वजनिक सूचना आह्वान गरी दररेटमा कम मूल्यमा विरुवा उपलब्ध गराउने फर्मलाई छनौट गरि विरुवा खरिद गरिएको जनाएको छ । गाउँपालिकाले सूचना आह्वान गरेपछि पाँच वटा फर्मले सुन्तला र कागतीका विरुवा वितरण गर्न दररेट सहितको कोटेशन पेश गरेका थिए ।

पेश भएका मध्ये सबैभन्दा कम मूल्य रु १९ रुपैयाँ पचास पैसामा प्रतिगोटा विरुवा उपलब्ध गराउने दररेट पेश गरेको बेनी नगरपालिका–९ को रामकृष्ण कृषि पशुपंक्षी तथा फलफुल नर्सरी फर्म मार्फत सुन्तला र कागतीका विरुवा खरिद गरि कृषकहरुलाई पचास प्रतिशत अनुदानमा वितरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ‘‘बालकृष्ण कटुवाल जीको फर्मले प्रतिगोटा रु २५ मा सुन्तलाका विरुवा उपलब्ध गराउने दररेट राख्नुभएको थियो, ५ वटै फर्म मध्ये सबै भन्दा कम साढे १९ रुपैयाँमामा विरुवा उपलब्ध गराउने दररेट पेश गरेको फर्मलाई छनौट गरेका हौँ, उहाँले गाउँपालिकाले निर्धारण गरेको मापदण्ड बमोजिमकै विरुवा उपलब्ध गराएको प्रतिबद्धता जनाउनुभएको छ, यहाँको हावापानी नमिल्ने ठाउँबाट आयात गरेको पुष्टि भए आबश्यक कारबाही प्रकृया अघि बढाउँछौँ’’–सुवेदीले भन्नुभयो ।

गाउँपालिकाले सार्वजनिक खरिद ऐन र नियमावलीमै रहेर सार्वजनिक सूचना आह्वान गरेर कोटेशन माग गरि न्युनतम मूल्यमा विरुवा उपलब्ध गराउने फर्म मार्फत विरुवा खरिद गरेको भन्दै विरुवा खदिरमा कुनै अनियमितता र प्रकृया मिच्ने काम नगरेको उहाँको भनाई छ । गाउँपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनमा आबश्यक नीति लिएको भएपनि उत्पादीत बस्तु तथा सामाग्रीहरुको बजारीकरणका सम्बन्धमा कुनैपनि ऐन, नियम र कार्यविधि नबनाएको र त्यसतर्फ गाउँपालिकाको ध्यानकर्षण भएको जनाएको छ । रघुगंगाकाले आर्थिक बर्ष २०७८÷७९ मा विभिन्न दुई वटा शिर्षकमा विनियोजन भएको रु ३ लाख बजेटबाट कृषकहरुलाई सुन्तला, कागती, लिची र आँपका विरुवा अनुदानमा वितरण गरेको थियो । गाउँपालिकाले सुन्तलाका बिज विरुवा (विउबाट उत्पादन भएका) ६ हजार ७३९ वटा र कलमी विरुवा ९९० वटा, कागतीका बिज विरुवा २ हजार ४९८ वटा र कलमी ८२८ वटा विरुवालाई पचास प्रतिशत अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि अधिकृत सविना शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सोही बजेटबाट बेनपा ९ कै प्रसंसा बहुउदेश्यीय नर्सरी फर्मबाट लिची ८१४ र पाँच ८४८ वटा विरुवा वितरण गरेको छ । कटुवालले गाउँपालिकामा साढे दुई बर्षका सुन्तलाका विरुवालाई ढुवानी सहित प्रतिगोटा रु २५ रुपैयाँमा उपलब्ध गराउने र विरुवा मरेमा कृषकलाई क्षतिपूर्ति स्वरुप थप विरुवा दिने प्रतिबद्धता गर्नुभएको थियो । कृषक कटुवालले गाउँपालिका परिसरमा विरोध स्वरुप विरुवा राखेपछि यतिबेला चौतर्फि छलफल र गाउँपालिकाको आलोचना भएको छ । स्थानीय कृषकले उत्पादन गरेका विरुवाको बजारीकरणमा अभिभावकिय भूमिका खेल्न गाउँपालिकालाई टिप्पणी आइरहेका छन् ।

गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले गाउँपालिकाभित्रका कृषिजन्य उत्पादनको बजारीकरणमा गाउँपालिकाले कस्तो सहयोग र समन्वय गर्ने भन्ने सम्बन्धमा छिट्टै नीतिगत निर्णय र आबश्यक ऐन तथा कार्यविधि निर्माणमा जुटेको बताउनुभयो । ‘‘ यसरी विरोधका लागि आर्थिक हानी हुने गरि नै विरुवा फ्याँक्नुले समाधान निस्कदैन, अहिलेस्म्म आफ्नो वडाका कृषकका यि समस्या छन भनेर कुनैपनि वडा मार्फत कार्यपालिकामा प्रस्ताबहरु आएका छैनन, कम्तीमा आफ्नो वडाका कृषकहरुका समस्यालाई कार्यपालिकामा ल्याउनु सम्बन्धित वडाका जनप्रतिनिधिको दायित्व हो, आगामी दिनमा सबै वडाका जनप्रतिनिधिहरु हामी त्यततर्फ गम्भिर हुन्छौँ’’– उहाँले भन्नुभयो ।