४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रशारणमा जोडियो
- १ जेष्ठ २०७८, शनिबार
- 1290 पटक पढिएको
म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन भएसंगै राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।कालीगण्डकी करिडोर प्रशारण आयोजना अन्तर्गत दानामा निर्माण भएको सबस्टेशन मार्फत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय प्रशारणमा जोडिएको आयोजनाका अवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिए । उनका अनुसार, आयोजनाको तीन वटै युनिटबाट उत्पादीत विद्युत केन्द्रिय प्रणालीमा जोडिएको छ ।
नेपाल बिद्युत प्राधिकरणको प्राबिधिक टोलीले परिक्षण उत्पादन सफल भएपछि सब स्टेशनमा जोडेका थिए । विद्युतगृह रहेको नारच्याङको बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि परिक्षण सफल भएको थियो ।परीक्षण उत्पादनको १५ दिनसम्म प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरिएको छ ।
रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रु. १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो । आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु. ७० करोड, जलविद्युत विकास कम्पनीले रु. एक अरब र नेपाल बैंकले रु. ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले रु. एक अरब, लक्ष्मी बैंकले रु.४० करोड, सिद्धार्थ बैंकले रु. ३० करोड र एस डेभलभमेन्ट बैंकको रु.३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ ।
साधारण सेयर पनि बाडफाँड भइसकेको छ । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।