म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न माग, हिमालै हिमालको पहिचान कहिले फिर्ता हुन्छ !

  • १६ फाल्गुन २०७४, बुधबार
  • कमल खत्री
  • 7778 पटक पढिएको

म्याग्दी, १६ फागुन । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन माग गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको रुपमा सुचिकृत गरिएको कारण हिमाली जिल्लाको रुपमा कायम गराउन माग गर्ने निर्णय गरेको हो ।

जिल्लाको बढी भुभाग हिमक्षेत्र भित्र पर्ने भएपनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसुची १ मा म्याग्दीलाई पहाडी जिल्लाको रुपमा राखिनु त्रुटीपूर्ण रहेकाले हिमाली जिल्लामा समावेश गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको जिल्ला समन्व्य समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो । ‘‘ हिमालै हिमालले घेरिएको जिल्लाको बास्तविक पहिचान नै ओझेलमा परेको छ, जिल्लाको हिमाली पहिचान खोसिँदा विकास निर्माण देखि राज्यका महत्वपूर्ण अवसरहरुबाट समेत बञ्चित हुनुपर्ने विडम्बनाको अन्त्य गर्न पहल गरेका छौँ,’’–जिसस प्रमुख केसीले भन्नुभयो । 

उहाँले हिमाली जिल्ला कायम गराउने मागलाई प्रदेश सभा र प्रतिनिधि सभा हुँदै सरकार समक्ष पेश गरिने बताउनुभयो । गत भदौमा सरकारले चार जिल्लालाई हिमाली जिल्लामा समावेश गरेको थियो । १६ वटा जिल्ला हिमाली जिल्लामा रहेकोमा स्थानीय तहको शासन सञ्चालन सम्बन्धी विद्येयकमा पहाडी जिल्लाको सुचिमा रहेका गोरखा, धादिङ, रामेछाप र पूर्वी रुकुमलाई हिमाली जिल्लामा बर्गीकरण गरिएसंगै अहिले हिमाली जिल्लाको रुपमा २० जिल्ला सुचिकृत छन् ।


म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन आबश्यक मापदण्ड पुग्दा समेत पहाडी जिल्लाकै रुपमा कायम गर्नु विडम्बना रहेकाले यस बिषयमा प्रदेश सरकार मार्फत संघिय सरकारको ध्यानकर्षण गराउन संसदमा कुरा उठाउने प्रदेश साँसद विनोद केसीले बताउनुभयो । उहाँले चार नम्बर प्रदेशको नामकरण समेत हिमालकै पहिचानबाट राख्न आफुले राय प्रस्तुत गर्ने बताउँदै म्याग्दीका जनतालाई पनि हिमाली जिल्लाका जनताले सरह राज्यका स्रोत र साधनमा पहुँच बढाउन हिमाली जिल्ला कायम गराउन आबश्यक रहेको बताउँनुहुन्छ ।


जिल्लाको दुई गाउँपालिकाको नामाकरण समेत हिमालकै नामबाट गरिएको छ । मुदीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालबाट धौलागिरि गाउँपालिका र नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालबाट अन्नपूर्ण गाउँपालिका नामाकरण गरिएको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा धौलागिरी प्रथम देखि छैटौँ सम्मका पिक रहेका छन् । मानापाथी हिमालको चुचुरो समेत मुदीमै पर्छ । धौलागिरी हिमालले रघुगंगा गाउँपालिकाको कुइनेमंगले र चिमखोलालाई समेत समेटेको छ ।


जिल्ला सदरमुकाम बेनी देखि २६ कोष टाढाको दुरीमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् । पुथा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकामा समेत हिमशृङ्खलाहरु रहेका छन् । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर नै रहेको छ । बराह शिखर हिमाल समेत रहेको नारच्याङमा निलगिरि हिमालको दक्षिण र पूर्वि मोहोडा समेत पर्छ । अन्नपूर्ण गाउँपालिका –५ शिखको पाउद्धार तर्फको लेकले अन्नपूर्ण दक्षिण भेगलाई समेटीएको छ । यिनै हिमाल संगै म्याग्दीमा दर्जनौ हिमालका चुचुराहरु रहेका छन् । हिमालै हिमाल भएको म्याग्दी जिल्ला अहिलेसम्म भने पहाडि जिल्लाको रुपमा सुचिकृत छ ।


जिल्लाको अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिका प्रत्येक्ष रुपमा हिमालसंग जोडिएको कारण जिल्लालाई हिमाली जिल्लाको रुपमा सुचिकृत गराउन संसदमा पहल गर्ने म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले बताउनुभयो । ‘‘ गएको संसदमा चार वटा जिल्लालाई हिमाली जिल्लामा थप गर्दा समेत म्याग्दीलाई छुटाईएको रहेछ, हिमालै हिमाल भएको म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन पहल गर्छु,’’– साँसद थापाले भन्नुभयो । म्याग्दीलाई हिमाली क्षेत्रमा समाबेश गर्न नसक्नु नितिगत र प्रकृयागत त्रुटी मात्रै नभएर भौगोलिक विभाजनमा गरिएको गम्भिर कमजोरी र अन्याय भएको यहाँका सरोकारवालाको गुनासो छ ।


हिमाली क्षेत्रमा सुचिकृत नभएकै कारण पर्यटन रोयल्टी कम आउने गरेको छ भने हिमाली भेगले समेटीएका जनताले दुर्गमको सुविधा पाउन सकेका छैनन् । बिषेश गरि हिमाली बस्तीहरुमा विद्यार्थि संख्या कम हुने तर पहाडि जिल्लामा पुग्नुपर्ने विद्यार्थी संख्या नपुग्दा स्थानीय स्तरमा कतिपय विद्यालयले स्विकृत नपाउने समस्या विद्यमान छ । ‘‘ हामी हिमालको काखमा बस्छाँै, तर हामीलाई पहाडि जिल्लाको नागरिकको रुपमा सुचिकृत गरिएको छ, यो हामीलाई मान्य छैन भनेर आवाज उठाउँदै आएका छाँै, तर अहिलेसम्म सुनुवाई हुन सकेको छैन्, धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले भन्नुभयो । ’’


हिमाली बस्तीहरु समेत रहेको म्याग्दीले पहाडि जिल्लाको रुपमा सुचिकृत हुँदाको मार स्थानीय तह पुनसंरचनाको लागि तयार गरेको जनसंख्याको मापदण्डमा पनि खेपेको छ । जिल्लामा पहाडी भुगोलको जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण गर्दा कतिपय वडाहरुलाई अहिलेपनि आफ्नो गाउँपालिकाको केन्द्रमा पुग्न अपायक परेको छ । यस अघि कायम रहेको धौलागिरि अञ्चलको नामाकरण समेत म्याग्दीकै मुदीमा अवस्थित धौलागिरि हिमालकै नामबाट गरिएको थियो । म्याग्दीमा रहेका हिमाली रेञ्जमा ५२ वटा पिकहरु रहँदा पनि पहाडि जिल्लामा सुचिकृत हुँदा जिल्लाको बास्तविक पहिचान नै गुमे सरह भएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँ बताउनुहुन्छ ।

हिमाली भुगोल भएको म्याग्दी पहाडि जिल्लामा पारेको कारण बजेट बिनियोजन देखि पर्यटन प्रवद्र्धनमा समेत यसले प्रत्येक्ष असर पु¥याएको छ । हिमाल भएको म्याग्दी जिल्लाको पहिचान नै दबाइएको कारण पनि जिल्लामा पर्यटन रोयल्टी समेत न्युन मात्रामा आउने गरेको छ । हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट बर्षेनी पाउनुपर्ने रोयल्टी जिल्लामा नआएको भन्दै तत्कालिन जिविसले हिमाल जिल्लामा पर्ने प्रमाण सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्राचार समेत गरेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l