‘लिफ्ट प्रविधिले पुर्‍यायो म्याग्दी नदीको पानी खबरामा’: सिचाई आयोजनाको उद्घाटन (फोटो फिचर)

  • २३ पुष २०७४, आईतवार
  • कमल खत्री
  • 2963 पटक पढिएको

म्याग्दी २३ पुस । म्याग्दीको बेनी नगरपालीका– २ खबरामा निर्मित ‘लिफ्ट प्रबिधि’को सिचाई आयोजना उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिचाई आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा ‘लिफ्ट प्रबिधि’ को आयोजना मार्फत हाँडेभिर स्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिचाई सुबिधा पुर्‍याइएको हो ।

सो आयोजनाको आईतवार प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्दै थापाले प्रविधिको प्रयोगले खेर गएको पानीलाई उपयोग गर्न सम्भव रहेको बताउँदै यस आयोजनाबाट कृषकहरुलाई सिचाईको सहज सुविधा पुग्ने बताउनुभयो । उहाँले जिल्लामा नदीको तटिय क्षेत्रमा रहेका धेरै ठाउँहरुमा सिचाई अभाब रहेकाले खबरामा सफल भएको लिफ्टिङ प्रविधिलाई ती क्षेत्रमा पनि विस्तार गर्न पहल गर्ने बताउनुभयो ।

करिब एक बर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट स्थानीय तरकारी खेतीमा आबद्ध कृषकहरुलाई राहत मिलेको छ । कुल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले दश लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । त्यस्तै रु ४ लाख बराबरको श्रमदान समुदायबाट गरिएको र रु ४ लाख रुपैयाँ ऋण खोजेर आयोजना सम्पन्न भएकोे उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

अहिले लभ्लिहीलको नजीकै पु¥याईएको पानीलाई संकलन केन्द्र मार्फत दोस्रो चरणको लिफ्ट प्रविधिबाट दारिमपाटा सम्म पुर्‍याउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । लभ्लिहिलको पुछारमा रहेको हाँडेभिर स्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो ईनार बनाइएको छ । सो ईनारदेखि विद्युतीय उपकरणको सहायताले पानी तानेर २५० मिटर माथि लभ्लीहिलको डाँडामा सिचाईको लागि पानी पुगेपछि स्थानीयबासी हर्षित बनेका छन् । यस आयोजनामा पानी खोल्न र बन्द गर्न मोवाईल एप्सको प्रयोग गरिएको छ ।

पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुनको लागि मोवाईल एप्स मार्फत (अन/अफ) खोल्ने र बन्द गर्ने प्रविधि जडान गरिएको हो । हालै मात्रै नेपालमा भित्रिएको लिफ्ट सिचाईको प्रयोजनका लागि लिपm्टीङ आयोजनामा मोवाईल मार्फत पानी खोल्ने र बन्द गर्ने प्रविधि धौलागिरिमै पहिलो रहेको प्राविधिक खत्रीको दावि छ ।

मोवाईल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेन्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुने भएकाले उपभोक्ताहरुलाई यो प्रविधि बढी लाभदायी हुने विश्वास छ । ब्यवसायीक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिचाईको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधि मार्फत गाउँमा पुर्‍याउन सफल भएका हुन् ।

फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग परेका छन् । बेनी बजार नजीकै रहेको यस गाउँमा लिफ्ट प्रविधि मार्फत सिचाई पुगेपछि यहाँका कृषकहरु तरकारी खेती तर्फ थप उत्साहित भएर लाग्ने बरिष्ट कृषि विकास अधिकृत श्याम प्रसाद रिजालको विश्वास छ । अहिलेसम्म बजारको सहज भएपनि सिचाईको अभाब खेपेका खवराबासीको लागि यस आयोजनाले उर्जा थपेको हो ।

जिल्लाका अन्य धेरै क्षेत्रमा सिचाईको मार खेपेका कृषकहरुको लागि पनि गाउँदेखि तल भएर बग्ने खोलाहरुबाट पानी तानेर सिचाई गर्ने लिफ्टिङ प्रविधि उपयोगी बन्ने देखिएको छ । कार्यक्रममा बेनी नगरपालिकाका उप–मेयर सन्जु बरुवाल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, बेनी नगरपालिका–२ का वडा अध्यक्ष हिरा बहादुर थापा, नेपाली काँग्रेसका सचिब क्याप्टेन मिनबहादुर कार्की, जिल्ला भूसरक्षण अधिकृत दिवाकर पौडेल लगायतले सो आयोजनाको दिगोपनामा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपमेयर बरुवालले आफ्नो छोरीको जन्मदिनको अबसरमा सो आयोजनाको लागि रु ५ हजार ५५५ सहयोग उपलब्ध गराउनुभएको थियो । सहकारीका अध्यक्ष भद्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक कृष्ण खत्री, म्याग्दीकाली तरकारी बलक्कका अध्यक्ष मुक्तिबहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको थियो भने तेजेन्द्र कार्कीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l