सामुदायिक विद्यालयको स्वरुप यसरी फेरिदै
- ६ पुष २०७४, बिहीबार
- धिरन खत्री
- 2413 पटक पढिएको
म्याग्दी, ५ पुष । पछिल्लो समय म्याग्दी जिल्लाको सामुदायिक विद्यालयको भौतिक संरचनाको स्वरुप फेरिदै गएको छ । जिल्ला शिक्षा कार्यालय, विभिन्न संघसंस्था, विदेशी दाताँहरुको सहयोग तथा समुदायको पहल र लगानीमा जिल्लाका सामुदायिक विद्यालयको भौतिक स्वरुप फेरिदै गएको हो ।
जिल्लामा भएका सरकारी विद्यालयको संरचना जिर्ण बन्दै गएको र २०७२ सालको महा भुकम्पले थप क्षती भएपछि जिल्लामा सामुदायिक विद्यालयहरुले ठुलो भौतीक क्षती व्यहोर्नु परेको थियो । पुराना जिर्ण भवन र भूकम्पबाट प्रभावित बनेर क्षतीग्रस्त पूर्वाधारको सामना गरेका विद्यालयहरुले नियमित पठनपाठन सञ्चालनमा समेत समस्या खेप्न बाध्य थिए । अहिले समुदायको पहल तथा जिल्ला शिक्षा कार्यालय, विभिन्न संघसंस्था लगायतको सहयोगमा विद्यालयका भौतिक संरचना पुर्णनिर्माणले तिव्रता पाएसंगै विद्यालयहरुको स्वरुप फेरिएको छ ।
जिल्ला शिक्षा कार्यालयले आवश्यकताको अवस्था हेरेर ८ कोठे, ६ कोठे, ४ कोठे, ३ कोठे र २ कोठे भवन र शौचालय निर्माणको लागि आबश्यक बजेट सहितको योजना कार्यान्वयन गर्न थालेको छ । त्यस्तै जिल्लाका कतिपय विद्यालयहरुले समुहायकै पहलमा समेत करोडौँ रकम जुटाएर भौतीक पूर्वाधार निर्माणलाई अगाडी बढाएका छन् । हालै समुदायको अग्रसरतामा धौलागिरि गाउँपालिका ७ ताकममा रहेको ताकम माविमा बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्सको सहयोगमा आठ कोठे भवन निर्माण गरिएको छ । त्यस्तै उनीहरुकै सहयोगमा अन्य विद्यालयमा भवन निर्माण कार्य भईरहेको छ ।
त्यस्तै अन्नपुर्ण गाउपाँलिका ७ शिखमा रहेकोे शिख माविमा बिट्रिस वेलफेरको १ करोड ३५ लाख आर्थिक सहयोगमा आठकोठे पक्कि भवनको निर्माण कार्य सुरु गरिएको छ । सोही संस्थाको सहयोगमा धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा रु १ करोड बढी लगानीमा पक्की विद्यालय भवन निर्माण कार्य सम्पन्न भईसकेको छ । जिल्ला शिक्षा कार्यालयको बहुबर्षिय योजना अन्र्तगत अन्नपुर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग मावि र रघुगंगा गाउँपालिका –२ राखुमा रहेको मुतिmधाम माविमा आठकोठे दुइ तला पक्कि भवन निर्माण गरिएको छ । ति भवन निर्माणमा शिक्षा कार्यालयले रु ५९ लाखका दरले रकम उपलब्ध गराएको जनाएको छ। जिल्लामा भुकम्पपछि आर्थिक बर्ष २०७२÷७३ मा रु १३ करोड ५० लाख रकम विनियोजन भएको थियो । जिल्ला सामुदायिक विद्यालयको भौतिक पुर्वाधार निर्माण, जिर्ण भवन पुर्ण निर्माण लागि विद्यालयमा अति आवश्यक फर्निचर र अन्य संरचना निर्माणमा सो रकम आएको विद्यालय निरिक्षक दलबहादुर थापाले जानकारी दिए ।
त्यस्तै ६ कोठे भवन निर्माणका लागि दिपक मावि पात्लेखेत र अम्मर मावि पाखापानिमा रु ४८ लाखका दरले रकम उपलब्ध गराएर भवन निर्माण भईसकेको छ । जिल्ला शिक्षा कार्यालयको पहलमा केन्द्रिय आयोजना कार्यान्वयन ईकाईबाट १ बर्षे योजना अन्तर्गत ४ कोठ भवनका लागि रु ६३ लाख, ३ कोठे भवनका लागि रु ३१ लाख ५० हजारको दरले ३ वटा विद्यालयको लागि रु ९४ लाख ५० हजार र २ कोठे भवनका लागि रु २१ लाखको दरले तीन ओटा विद्यालयको लागि रु ६३ लाख रकम उपलब्ध भएको सव ईन्जिनियर रोहित बानियाले बताए ।
जिल्लामा आर्थिक बर्ष २०७३÷७४ मा विद्यालयको भौतिक संरचना मर्मतका लागि रु १८ लाख ७५ हजार आएको थियो । जसमध्ये चार ओटा विद्यालयलाई रु १ लाख, अन्य विद्यालयलाई रु २५ हजारका दरले विनियोजन गरिएको विद्यालय निरिक्षक थापाले जानकारी गराए । जिल्लामा विधालयको भवनको छाना, फर्निचर मर्मत सम्भारका लागि रु ७ लाख ५० हजारको दरमा ५ ओटा विद्यालयका लागि रु ३६ लाख २५ हजार रकम उपलब्ध भएको थियो । सो रकम आदर्श मावि रिमा, ज्ञानोदय मावि मौवाफाँट, गोरक्ष आधारभूत विद्यालय, रुम, किसानी मावि ताकम, सिद्धशान्ति माविलाई विनियोजन गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालयमा शिक्षा विभागबाट आर्थिक बर्ष २०७४÷७५ मा जिर्ण विद्यालयको कक्षाकोठा मर्मतका लागि रु ६२ लाख ५० हजार, दुई कोठे भवन निर्माण लागि ११ विद्यालयका लागि रु १ करोड ७६ लाख, ४ कोठे भवन आठ ओटा विद्यालयका लागि रु १ करोड ४४ लाख रकम विनियोजन गरिएको छ । केहि बर्षयता शिक्षा कार्यालय, समुदाय र संघसंस्थाको पहलमा सामुदायिक विद्यालयमा आरसिसि पक्की भवन निर्माण तथा पुराना भवनको मर्मत हुन थालेपछि विद्यालयमा पठनपाठन गर्न सजिलो भएको मुक्तिधाम माविका प्रअ अम्मर केसीले जानकारी दिए । रोजगारको शिलशिलामा युकेमा रहेका भुतपुर्व विद्यार्थीहरुले १७ लाख ३० हजार आर्थिक सहयोग र विद्यालयको तर्फबाट ५ लाख २० हजार रकम सहित विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको लागि दुईकोठ भवन निर्माण गर्न लागिएको प्रअ केसीले जानकारी दिए ।
जिल्लाको शिक्षा क्षेत्रको सुधारका लागि जिल्ला शिक्षा कार्यालयको सहयोगमा मात्र नभएर विद्यालयमा अध्ययन गरेर रोजगारको शिलशिलामा विभिन्न मुलुकमा रहेको भुतपुर्व विद्यार्थीको सहयोगमा आफुले पढेको विद्यालयमा भवन निर्माण, फर्निचर आधुनिक प्रविधिको उपयोगका लागि कम्प्युटर कक्षा र ई लाईबेरी स्थापनमा सहयोग उपलब्धताले पनि जिल्लाको विद्यालयको भौतिक संरचनामा स्वरुप फेरिदै आएको छ । जिल्लामा रहेका २२५ वटा सामुदायिक विद्यालयमा करिव २४ हजार विद्यार्थी अध्ययनरत छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l