बेनी बसपार्कको गुरुयोजना निर्माणको लागि डिजाईन सार्वजनिक

  • ३२ श्रावण २०७४, बुधबार
  • 3979 पटक पढिएको

म्याग्दी, ३२ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा रहेको बसपार्कलाई व्यवस्थित बताउन गुरुयोजना निर्माण गर्न थालिएको छ । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा रहेको बसपार्क अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गुरुयोजना निर्माण कार्य अन्र्तगत प्रारम्भिक डिजाईनबारे सरोकारवालाहरुलाई जानकारी गराईएको छ । झण्डै एक दशकदेखि सञ्चालनमा आएको बेनी बसपार्कलाई व्यवस्थित बनाउन बेनी नगरपालिका र बेनपा–८ को पहलमा सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्कको गुरुयोजना तयार गर्न लागेको हो ।

डिभिजन कार्यालयले ए नट आर्टीटेक्चर एण्ड आर्टीटेक्ट मार्फत तयार गरेको बसपार्कको गुरुयोजनाको डिजाईनबारे बुधवार बेनीमा छलफल गरिएको हो । कार्यक्रममा आर्टीटेक्ट ईञ्जिनियर राहुल प्रधानले बसपार्कको नक्साको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले साघुरो ठाउँ र हाईवेसंगै बसपार्क रहेकाले अधिकतम रुपमा बसपार्क व्यवस्थित हुने गरि डिजाईन तयार गरिएको बताउँदै सरोकारवालाबाट आएका सुझाब अनुसार थपघट गरिने बताउनुभयो ।


जिल्ला प्रवेशद्धारको रुपमा रहेको बेनी बसपार्कलाई स्वच्छ, सफा, हराभरा र आधुक बनाउन डिजाईनको आधारमा बजेटको व्यवस्था गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । सार्वजनिक गरिएको नक्सामा २२ रोपनी क्षेत्रफलमा फैलीएको बसपार्कको कालीगण्डकी नदीतर्फको भागमा ठूला, मझौला र माथिल्लो क्षेत्रमा साना प्रकृतीका सवारी साधन पार्कीङ गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ ।

त्यस्तै बसपार्कलाई स्तरोन्नतीको क्रममा कालीपुलको बास्केटबल खेलमैदानलाई कवर्डहल नजिकै सार्ने र सो ठाउँमा ब्यवसायीक भवन निर्माण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै सोही ठाउँमा सबै यातायात व्यवसायीको एकै ठाउँमा टिकट काउन्टर, दोस्रो तलामा चिया पसल तथा कार्यालय सञ्चालन गर्न प्रस्ताव गरिएको छ । दायाँ बायाँ पार्किङ र बिच बिचमा सडक रहने बसपार्कमा यात्रु गाडी चढ्ने र झर्ने ठाउँ समेत निर्माण गरिने भएको छ ।

कार्यक्रममा सहभागिहरुले बसपार्कको गुरुयोजना निर्माणको लागि तयार गरिएको सो डिजाईनलाई परिवर्तन गरि अहिले निर्धारण गरेको भन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्ने, कालिपुलमा आउने भलबाढीलाई सहज रुपमा निकास दिने, कोसेली घर तथा पर्यटन सुचना केन्द्रलाई समेत समावेश गर्ने गरि डिजाईनलाई परिमार्जन गर्न सुझाब दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, जनप्रतिनिधिहरु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठक, यातायात व्यवसायी, टोल सुधार समिति, युवा कल्व, आमा समूहका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रमको बेनी नगरपालीकाका कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले सहजिकरण गर्नुभएको थियो ।