दामोदरकुण्डको साहशिक यात्रा (यात्रा संस्मरण ) फोटो सहित

  • २६ श्रावण २०७४, बिहीबार
  • 4851 पटक पढिएको

हिन्दु धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल दामोदरकुण्डको यात्रा तय गर्दा मनमा धेरै खालका कौतुहलता उत्पन्न भएको थियो । हिमाल पारिको जिल्ला मुस्ताङको अति दुर्गम तर महत्वपूर्ण धार्मिक गन्तव्य दोमोदरकुण्डको यात्रा साहशिक नै हुने मेरो अनुमान थियो । बेनीबाट म खेम केसी सहित मेरा दाईहरु शेरबहादुर केसी, याम बहादुर केसी, भक्तबहादुर केसी, नरबहादुर केसीको परिवारका १५ सदस्यीय टोलि साउन १३ गते बेनीबाट दामोदरकुण्डको लागि मुस्ताङ प्रस्थान ग¥र्यौ ।

मुस्ताङको मुक्तिनाथ सम्म यस अघि पनि पुगेपनि कागबेनीदेखि चराङतर्फको यात्रा मेरो लागि नौलो थियो । पहिलो दिन बास बसेको कागबेनीबाट हामी दोस्रो दिन चराङसम्म ५ वडा गाडी परिवर्तन गर्दै पुग्यौ । ठाउँ ठाउँमा खसेको पहिरो र खोलामा पुल नभएको र पानीको सतह बढेपछि सवारी परिवर्तनको झनझट प¥र्यो । दोस्रो दिनको गन्तव्य स्थल यारा थियो । त्यहाँ पुग्नको लागि चराङ पुगेपनि दैदल हिड्नुपर्ने भयो । चराङदेखि यारा सम्म पुग्न ६ घण्टाको पैदल यात्रा रहेछ ।

खोलामा पुल नभएपछि चराङमै रोकियो गाडी । त्यहाँबाट हामी झोलुङ्गे पुल तरेर पैदल यात्रा तय ग¥यौ । यात्राको क्रममा पदचिन्ह नभएकाले हामी केही अलमलियौँ पनि । अलि माथि पुगेपछि हामीले पारिपट्टी नै रहेको एउटा ट्याक्टर फेला पा¥र्यौ । ट्याक्टरमा चढेपछि हामीलाई यात्रा गर्न केही राहत महशुस भयो । हामी रातको १२ बजेमात्रै यारामा पुगेर बास बस्यौँ । यारासम्मको यात्रा निकै नै दुखदायि भएको थियो ।

सवारी साधन परिवर्तन गर्नुपर्ने, पैदल हिड्दा हराउने जस्ता समस्याले हामी समस्यामा परेका थियौँ । यारादेखि माथि कुनै मानव बस्ती नभएको जानकारी पाएपछि हामीले त्यहाँबाट घोडामार्फत यात्रा गर्ने निधो ग¥र्यौ । जान आउनको लागि एउटा घोडाको रु १० हजार भाडा लाग्दो रहेछ । हामीले १५ वडा घोडा भाडामा लिएर त्यहाँबाट दामोदरकुण्डतर्फ अगाडी बढ्यौँ । एउटै परिवारका १५ जनाको ठुलो समुहमा दामोदर कुण्ड जाने हामी नै पहिलो रहेछाँै ।

स्थानीयले साना साना समुहमा तिर्थयात्रीहरु आउने भएपनि एउटै घरबाट १५ जना एकैपटक दामोदरकुण्ड कोही पनि नआएको सुनाएपछि हामीलाई केही गर्वको महसुस पनि भयो । तेस्रो दिनको विहानै हामी १० वडा घोडामा ४ जना सहचालकको सहायताले दामोदरकुण्डतर्फ प्रस्थान ग¥र्यौ । उजाड । मरुभुमि जस्तै भुगोलबाट सेता हिमालको मनोरम दुष्यहरुलाई नियाल्दै हामी अगाडी बढ्यौँ । विहान ८ बजे याराबाट सुरु भएको हाम्रो यात्रा बेलुकी ५ बजे झुमाठाँटी पुगेर रोकियो । यारादेखि झुमाठाँटीसम्म झण्डै ९ घन्टा लाग्दो रहेछ । त्यहाँ सानो ठाँटी रहेछ ।

तिर्थयात्रीहरुलाई बसोबासका लागि सहयोग गर्न दुई जना झुमा पनि बसेका रहेछन् । हामीलाई खाना पकाउनको लागि उनीहरुले चामल, दाउरा दिएर सहयोग गरे । उनीहरु दामोदरकुण्ड अन्नक्षेत्रबाट त्यहाँ बसेका रहेछन् । हामीले पनि अन्नक्षेत्रलाई केही रकम दान ग¥र्यौ र चौथो दिनको यात्रा तय ग¥र्यौ । यो दिन हामी दामोदरकुण्ड पुग्नुपर्ने थियो । झुमाठाँटीदेखि घोडा चढेर अगाडी लम्किँदै गर्दा त्यहाँको वातावरणले केही अनौठो अनुभुतिसंगै शारिरीक रुपमा निकै थकित बनायो ।

सञ्चार सम्पर्क विहिन अनकन्टार, मानव बस्ती रहित ठाउँमा पहिलो पटक हामीले फरक अनुभुति ग¥र्यौ । घोडाको सयरमा यात्रा गर्दै गर्दा भेडाच्याङ्ग्राहरुको बथानले थप आनन्द तुल्यायो । त्यहाँ अहिले धेरै भेडिगोठहरु पनि भेटिए । अगाडी बढ्दै गर्दा फरफर हिउँ पनि प¥र्यो । चिसो बढ्यो । हामी लकलक काँप्दै अगाडी बढीरह्यौ ।

मौसममा धेरै बदली नभएकाले हिउँले खासै असर गरेन् । झुमाठाँटीदेखि माथिको बाटो एकदमै जोखिमपूर्ण भएकाले यो यात्रा निकै साहसिक भयो । भिरमा एक मिटर पनि फराकिलो नभएकाले बाटोमा घोडा चढेर हिँड्दा मन आफ्नो काबुमा राख्न निकै गाह्रो भयो ।

तर मान्छे हिँड्न पनि सहज नभएको भिरमा सहजै रुपमा तिर्थयात्री बोक्ने ति शिपालु घोडाहरुलाई मैले नमन गरेँ । बर्षको करिब २ सय तिर्थयात्रीहरु दामोदरकुण्ड क्षेत्रमा पुग्ने गरेकोमा ४/५ जनाको भिरबाट लडेर र उच्च लेक लागेको कारण ज्यान जाने गरेको रहेछ । बिशेष गरि राक्षस खोलाको झण्डै आदी घण्टाको उकालो बाटो जोखिमपूर्ण रहेछ ।

त्यहाँ यस अघि धेरै मानिसहरुले ज्यान गुमाएको त्यहाँ देखिने कंकालहरुले पुष्टि गथ्र्यो । कतिपय तिर्थयात्री भिरबाट लडेर त कतिपय उच्च हिमाली क्षेत्र भएकाले लेक लागेर समयमै उद्धार नहुदा ज्यान गुमाएको हुनसक्ने मलाई आभास भयो ।

कतै रमाईलो त कतै त्रासका बिच हामी बेलुका ५ बजे झण्डै १० घण्टाको यात्रापछि हाम्रो यात्राको गन्तव्यस्थल दामोदरकुण्डमा पुग्यौ । आहा त्यहाँ पुग्दा त निकै आनन्द महसुस भयो । कतै अर्कै संसारमा पुगेजस्तो अनुभुति । सेताम्मे हिमाल र फ्रुस्रा डाँडाहरुले घेरिएको सम्मो परेको फाँटमा दामोदरकुण्ड अबस्थित रहेछ् ।

त्यहाँ प्राकृतिक तीन वटा तलाउ रहेछन् । नजीकै कुसको घाँसे मैदानले मन लोभ्यायो । त्यहाँको प्राकृतिक छटाले साँच्चीकै त्यो जोखिमपूर्ण र कष्टकर यात्रालाई बिर्साइदियो । तिर्थयात्रीलाई बसोबासका लागि अस्थायी सक्तल र पुजाआजाका लागि टिनले छाएको सामान्य मन्दिर मात्रै मानवनिर्मित छ ।

त्यस मन्दिरमा पुजा गर्दै आएका पुजारी मोहनी बाबा केही तल फर्किदै गरेको अबस्थामा हाम्रो पुजाको लागि उनलाई पुनः फर्काएर लगेका थियौँ । त्यो दिन हामी त्यहाँ रहेको सत्तलमै बास बस्यौँ । मन्दिरका पुजारी बाबाले त्यस दिनको बसोबासको बन्दोबस्त मिलाए ।

ति पुजारी बाबाले सो सक्तलमा नियमित रुपमा बनमान्छे समेत बास बस्ने सुनाउँदा मलाई निकै डर लाग्यो । उनले आफु त्यहाँ संधै बनमान्छेसंगै बस्ने र उसले तिर्थयात्रीहरुलाई केही नगर्ने सुनाए । बर्षमा करिब १० महिना नियमित हिमपात हुने दामोदरकुण्डमा पुजाआजाका लागि बस्ने ति पुजारी बाबाले १२ बर्षदेखि नुन नखाएको सुन्दा म झनै आश्चर्यमा परेँ ।

उनी त्यहाँ जुता चप्पल समेत नलगाईकन बस्दा रहेछन् । दामोदरकुण्डमा जेठ १५ देखि साउन १५ भित्र मात्रै यात्रा गर्न सकिने र अरु महिना हिउँको कारण जान नसकिने भएकाले ति बाबाले दुई महिना यसै दामोदरकुण्डमा बसेर पुजा गर्दा रहेछन् ।

हामीले पाँचौ दिन विहानै दामोदरकुण्डमा रहेका तीन वटै दुधकुण्ड, रगतकुण्ड र चक्रकुण्ड नामका तलाउहरुमा स्नान ग¥र्यौ । साँच्चै नै दुधकुण्डको रंग सेतो, रगतकुण्डको रंग मध्ययम रातो र चक्र कुण्डमा सुर्यको चक्र प्रष्ट देखिने रहेछ । कतैबाट पनि पानी आएको नदेखिने ती प्राकृतिक तलाउहरुमा कहिल्यै पानी नसुक्ने अर्को बिशेषता रहेछ ।

त्यहाँबाट देखिने भृकुटी हिमालको मनमोहक दृष्यले जो कोहीलाई पनि मख्य पार्दो रहेछ । यसै भृकुटी हिमालको फेदीमा १०८ वटा जलकुण्ड रहेको बताईन्छ ।

श्रीकृष्ण भगवानको नाममा हामीले त्यहाँ स्नान संगै मन्दिरमा लाखबक्ति बाल्दै पुजाआजा समेत ग¥र्यौ । मन्दिरका पुजारी बाबाले हामीलाई त्यहाँदेखि करिब ३ घण्डाको यात्रापछि शालिग्रामको पहाडमा पुगिने सुनाउँदा निकै आश्चर्य लाग्यो । यहि दामोदर कुण्ड हुँदै बग्ने साना पानीका स्रोत नै कालिगण्डकी अर्थात कृष्णगण्डकीको मुहान मानिदो रहेछ ।

प्राकृतिक रुपमा निकै मनमोहक रहेको यो दामोदरकुण्ड क्षेत्रमा हामीले नजिकबाट बाघ र मृगलाई नजिकबाट देख्ने अबसर समेत पायौँ । यस क्षेत्रमा भालु लगायतका अन्य जंगली पशुपंक्षिहरु समेत पाईने रहेछ् । अलौकिक र निकै आश्र्यलाग्दो दामोदरकुण्ड क्षेत्रको तिर्थयात्राबाट फर्किदा हामी मुक्तिनाथ मन्दिरको समेत दर्शन गरि तिन दिनमै बेनीमा आईपुग्यौ ।

खासमा यो यात्रा एक अविष्मरणीय र शाहसिक नै रह्यो । धार्मिक र प्राकृतिक सौन्दयर्ताको कारण निकै सम्भावनायुक्त भएपनि सञ्चार पहुँच र मानव बस्ती रहित तथा उच्च हिमाली क्षेत्र भएकाले जुनसुकै समयमा हुनसक्ने शारिरीक अस्वस्थता र प्राकृतिक विपक्ति जस्ता कारणबाट भने यो क्षेत्रको यात्रा निकै जोखिमपुर्ण लाग्यो ।

पदमार्गको अभाब, संकेतबोर्ड नराखिनु, बस्नको लागि सक्तल लगायतका पूर्वाधार प्रयाप्त नहुनु यो क्षेत्रको विकास नहुनुको अर्को कारण हुन् । अन्तमा यस क्षेत्रमा जाने भक्तजन तथा तिर्थयात्रीहरुलाई समुहमा जान, आबश्यक बन्दोबस्त सहित प्राथामिक उपचारका साधन सहित जान मेरो सुझाब छ ।


दामोदरकुण्ड पुगेर फर्किएका खेम केसीसंग गरिएको कुराकानीमा आधारित
प्रस्तुती कमल खत्री