भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी

  • २२ श्रावण २०७४, आईतवार
  • 1681 पटक पढिएको

म्याग्दी, २२ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । रेणुले ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको छ । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि पर्नुभएको हो ।

मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गर्नुभएका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि पर्नुभएको थियो । वडा नं २० को गणना अन्तिममा गरिएको थियो । यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन । प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुनुहुन्छ ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन ।

एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । सर्वाेच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए । यसैबीच– आज भरतपुरमहानगरमा माओवादी केन्द्र र काँग्रेसले संयुक्त विजय र्याली गर्ने भएको छ ।